कर तिर्न अर्कै प्रदेश ः तिर्नुपर्ने ७५०, खर्च १० हजार

प्रकाशित समय 7:17:00 PM
शम्भु यादव
सिरहा, ७ भदौ । ओखलढुंगाका पूर्णप्रसाद न्यौपाने गैरसरकारी संस्थाको कर तिर्न हालै लहान आइपुगे । आन्तरिक राजस्व कार्यालय लहानमा आइतबार कर बुझाएर तत्काल घर फर्किने उनको योजना थियो । तर, कागजात अपुग भएपछि जिल्लाबाट मगाउँदा कर बुझाउन तीन दिन लाग्यो ।
उनको काम मंगलबार सकियो । कर बुझाएर घर पुग्दा पाँच दिन हुन्छ । करभन्दा बढी उनीहरूलाई बसाइ र यातायात साधनमै खर्च भयो । ‘शनिबार ओखलढुंगाबाट हिँडे, एक दिनअघि आउँदा काम चाँडै हुने सोचें तर त्यस्तो भएन , भिजन नेपाल ओखलढुंगाका अध्यक्ष न्यौपानेले भने, ‘कागजात अपुग हुँदा झन्झट बेहोर्नुर्पयो, खर्च पनि बढ्यो । 
उनका अनुसार विभिन्न संघसंस्था, पार्टी, सरकारी कार्यालयको सेवा प्रदेश–प्रदेशमै हुन थाले तर राजस्व कार्यालयको कामका लागि अर्को प्रदेशमा आउनुपरेको छ । ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट कर तिर्न लहान आउनुपर्दा सास्ती बेहोर्नुपरेको उनको भनाइ छ । उनीजस्तै एसबी जेरो र पासाङकामी शेर्पाले पनि झन्झट बेहोरेर कर तिरे । ग्रामीण भेगमा व्यवसाय वा संस्था स्थापना गरेका व्यक्तिलाई कर बुझाउन आउन झनै कठिन हुने गरेको ओखलढुंगा खिजीदेम्बा गाउँपालिकाका शेर्पाले सुनाए । ‘लहान आइपुग्न ठाउँ–ठाउँमा गाडी फेर्नुपर्छ, जान–आउन सवारी भाडा २ हजारभन्दा बढी रुपैयाँ लाग्छ , उनले भने, ‘कागजात नपुग्दा कहिलेकाहीं त्यत्तिकै जिल्ला फर्किनुपर्दा कर तिर्न दोहोरो खर्च हुन्छ ।
उनका अनुसार साउन, भदौ र असोजमा कर तिर्नुपर्ने भएकाले वर्षाको मौसममा पहिरोको जोखिम मोलेर आउनुपर्छ । ‘टाढाबाट कर तिर्न आउनेलाई बिचौलिया रोज्नुपर्छ, नभए आफैं २–३ दिन बसेर काम सकाउनुपर्छ , उनले भने ।
जेरोका अनुसार चिसो ठाउँका मानिसलाई लहान आउँदा होटलमै बस्नुपर्दा बढी खर्च हुन्छ । भने, ‘त्यही भएर सेवाग्राहीले बिचौलियामार्फत पनि काम गराउने गरेका छन् ।केही कारोबार नभएका फर्म वा संस्थाले पनि बर्से्नि ७ सय ५० रुपैयाँ कर बुझाउनुपर्छ । त्यही रकम तिर्न आउँदा भाडा, खाना, बसाइ खर्च गरी १० हजारसम्म खर्च हुने गरेको उनले सुनाए । तीन तहको सरकार बनेपछि कतिपय सरकारी संरचना प्रदेशस्तरमै सञ्चालन भएको अवस्थामा कर कार्यालय पनि पहाडी जिल्लालाई सहज हुने ठाउँमा भए जनतालाई सहज हुने उनको भनाइ छ ।
आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी ललित नारायण यादवका अनुसार जनतालाई सहज सेवाका लागि राजविराज र सोलुमा दुई सेवा केन्द्र खोल्ने तयारी छ । देश संघीयतामा गए पनि अझै पुरानै संरचनाअन्तर्गत अञ्चलस्तरीय आन्तरिक राजस्व कार्यालय रहँदा सेवाग्राहीलाई सास्ती भएको हो । यो राजस्व कार्यालयमा प्रदेश १ का उदयपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका करदाता कर तिर्न आउने गरेका छन् । प्रदेश २ का सिरहा र सप्तरीकाले पनि यही कर बुझाउने गरेका छन् । यी ६ वटै जिल्ला सगरमाथा अञ्चलमा पर्छन् ।
लक्ष्यभन्दा बढी राजस्व असुली आन्तरिक राजस्व कार्यालय लहानमा आर्थिक वर्ष २०७४÷७५ मा लक्ष्यभन्दा बढी राजस्व असुली भएको छ । १ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ लक्ष्य रहेकामा २ अर्ब ३ करोड ९७ लाख राजस्व असुली भएको सूचना अधिकारी यादवले जानकारी दिए । उनका अनुसार लक्ष्यभन्दा २३ प्रतिशत र आव २०७३÷७४ मा भन्दा १४८ प्रतिशत बढी राजस्व असुली भएको हो । आव २०७३÷७४ मा १ अर्ब ३४ करोड १० लाख लक्ष्य रहेकामा १ अर्ब ३७ करोड ५२ लाख असुली भएको थियो । ६ जिल्लाका करदाताले अन्तःशुल्क, आयकर र भ्याट तिर्ने गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »