अहेव नै डाक्टर

प्रकाशित समय 12:26:00 AM
शम्भु यादव
सिरहा, १८ भदौ । सिरहाको औरही गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र अहेवकै भरमा चलिरहेको छ । ०७१ साल माघ १२ गते मेडिकल अधिकृत डा. कृष्णा यादव सरुवा भए । स्थानीय निर्वाचनपछि एचए रामनारायण सिंह बरियारपट्टी गाउँपालिकाका स्वास्थ्य संयोजक भएर गए । वरिष्ठ अहेव उपेन्द्र यादवले औरहीका स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हाले । त्यसपछि स्वास्थ्य केन्द्र अहेवकै भरमा रहेको स्थानीयको भनाइ छ ।
औरही, लबटोली, इटाटार, कमलपुर, गणेशपुरलगायत गाउँका बिरामी यो स्वास्थ्य केन्द्रमा उपचारका लागि आउँछन् । तर, यहाँ भौतिक पूर्वाधार अस्तव्यस्त छ भने डाक्टर नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा छैन । दैनिक ६० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको निमित्त प्रमुख उमेश यादवले जानकारी गराए ।
‘एमबीबीएस डाक्टर बस्दा सयभन्दा बढी बिरामी आउँथे , उनले भने, ‘चार वर्षदेखि दरबन्दीको डाक्टर आएको छैन, हामीले पटक–पटक माग गरे पनि सुनुवाइ भएको छैन ।  करार र छात्रवृत्ति पाएका डाक्टर आए पनि केही महिना बसेर जाने गरेको उनको भनाइ छ ।
अहिले बिरामी हेर्न अहेव वीरेन्द्र साह र वीरेन्द्र राय दुई जना छन् । उनीहरूमध्ये एक जना गाउँमा गाउँघर क्लिनिक र खोप कार्यक्रम सञ्चालन गर्न जान्छन् । भौतिक पूर्वाधार र दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन नहुँदा सामान्य बिरामीबाहेक अरूलाई बाहिर पठाउनुपरेको निमित्त प्रमुख यादवले बताए । पूर्वाधार अभावले प्रयोगशाला, ओपीडी कक्ष, औषधि वितरण कक्ष र प्रशासनिक कार्यालय व्यवस्थित हुन नसकेको उनले सुनाए ।
यही स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर पनि सञ्चालनमा छ । डाक्टर नहुँदा गम्भीर अवस्थाका गर्भवतीलाई बाहिर पठाउने गरिएको नर्स अनु बस्नेतले सुनाइन् । ‘नजिकमा एम्बुलेन्स पनि छैन, सदरमुकाम सिरहा नभए लहानबाट एम्बुलेन्स मगाउनुपर्छ , उनले भनिन, ‘बर्थिङ सेन्टरबाट पाउने सेवासुविधा यस भेगका जनता पाउन सकेका छैनन् ।
स्वास्थ्य केन्द्रको भवन अधुरै छाडिएपछि यहाँ भौतिक पूर्वाधारको अभाव भएको छ । पीएस विशाल एन्ड विराट जेभीले सहरी विकास कार्यालय राजविराजबाट निर्माण ठेक्का ३ करोड ४९ लाखमा लिएको थियो । निर्माण कम्पनीले २ करोड ३२ लाख भुक्तानी पनि लिइसकेको छ तर भवन अधुरै छ ।
चार वर्षदेखि काम अधुरै छाडेर ठेकेदार भागेको गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले बताए । ‘सहरी विकास कार्यालयले ठेकेदारसँगको विवाद समाधान गरी हस्तान्तरण गरे गाउँपालिका बाटै बजेट लगाएर काम पूरा गर्छौं, उनले भने, ‘यहाँ भौतिक अभावले डाक्टर पनि आउँदैनन, जनताले स्वास्थ्य पाउन सकेको छैनन् । न उनीहरू काम गर्छन् न त हामीलाई दिन्छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »