तराई मधेशमा रक्षाबन्धनको उल्लास

प्रकाशित समय 7:36:00 PM
अजयकुमार साह
धनुषा, १० भदौ । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । 
मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरूमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् । 
रक्षाबन्धनका दिन दिदीबहिनी ले आफ्ना दाजुभाइ लाई याद गर्ने र सोहीअनुरूप दाजुभाइले  पनि बहिनीलाई याद गरेर अनिवार्य रूपमा उनीहरू कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी (रक्षासुत्र) बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्दै खुशीयाली साटासाट गर्ने दिनलाई रक्षाबन्धन पर्व भनिएको छ । रक्षाबन्धन पर्वले भाइ बहिनीको प्रेमलाई झन प्रगाढ बनाउने जनविश्वास छ ।  
रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेश भरी नै एउटा छुट्टै उल्लास छाएको छ । जताततै भाइ बहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गितिक धुन गुञ्जायमान भएको पाइन्छ ।
के हो रक्षाबन्धन ?
भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन  रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह ,सामिप्य र प्रेम ल्याउँछ । 
रक्षाबन्धन पारिवारिक मेल मिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजार मा पनि विशेष चहल पहल हुन्छ । रङ्गीविरङ्गी राखीले पसल सजेको छ । 
पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुरहरूले देवताहरूमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे । 
यसरी गौरवहीन जीवनदेखि देवराज ईन्द्र बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । 
अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन ईन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमूहूर्तमा ईन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए । 
जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृति सम्मत पर्वका रूपमा पनि लिइन्छ ।
यता श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । 
सत्ययुगमा दानवद्वारा लखेटिए का देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । 
यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र) तथा पितृ हरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ  ।
ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ ।
शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको सा·े (समाप्ति)को दिनका रूपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »