वास भारतमा, जग्गा नेपालमा

प्रकाशित समय 7:42:00 PM
मिथिलेश यादव
सिरहा । भारतीय गाउँ जोगिया र सिरहा नगरपालिका–२१ लगडी गोठको सिमाना मैनावत्ती खोला हो । सीमावारिपारिका बासिन्दा फरकफरक देशका नागरिक हुन्। एउटा खोलाले छुट्टिएको तर नजिकका गाउँ, समान परिवेश र साझा संस्कृतिका कारण एउटै परिवारका सदस्यझैं मेलजोलका साथ उनीहरू बसेका छन् । उनीहरूले एकअर्कालाई सधैं सक्तो मदत गर्छन्।
दसगजापारि जोगियामा यादव समुदायको बाक्लो बसोबास छ । राम, पासवान, मण्डल, साफी समुदाय पनि मिलेर बसेको बस्ती हो जोगिया । वारि लगडीगोठतर्फ मण्डल समुदायको सघन वास छ । ‘पारि आवश्यक पर्दा वारिबाट सहयोगी हात जुट्छन्, वारि आवश्यक पर्दा पारिबाट,  लगडीगोठका अध्यक्ष सुरेन्द्र मण्डलले भने, ‘वारि विवाह हुँदा पारिका मानिस भोज खान जुट्छन, पारि हुँदा वारिका । आफूहरूबीच दुई देशका नागरिक हौं भन्ने ख्याल नै नआउने उनले बताए । ‘हिँयुल गर्दा पनि हामी सीमा बिर्सिन्छौं,  उनले भने ।
पारिपट्टिको गाउँ जोगियाका केही व्यक्तिले लगडीगोठमा खेत किनेका छन् । नाताकुटुम्ब वारि भएकाले उनीहरूलाई खेत किन्न झमेला हुँदैन । वारिपट्टि सस्तोमा बढी जमिन पाइने हुँदा पारिका बासिन्दाले आफ्ना नाताकुटुम्बका नाममा नेपालतर्फ जग्गा किन्छन् ।
जोगियाका बौएलाल राम र लगडीगोठका चन्देश्वर मण्डल बीच पनि उस्तै सीमाविहीन सद्भाव छ । बौएलाल खेतीकिसानी गर्छन् र चन्देश्वर पनि कृषक हुन् । उनीहरू भैंसी चराइरहँदा सीमा नै भुलेर कहिले वारि पुग्छन् त कहिले पारि । देश अलगअलग भए पनि श्रमसंस्कार, रीतिरिवाज र भाषामा भिन्नता नभएको लगडीगोठका झमन यादवले बताए । ‘श्रमसंस्कारसँगै वैवाहिक सम्बन्धले गर्दा हामी झनै नजिकिएका छौं,  उनले भने, ‘मेरो विवाह पारिपट्टि भएको हो । मेरा भान्जी र बहिनीको विवाह पनि उतै भएको हो । म ससुराली र सम्धीघर गइरहन्छु । सम्धी र सालोहरू पनि आइरहनुहुन्छ । दोहोरो आउजाउले सम्बन्ध झन् कसिलो भएको छ ।
पारिपट्टिको गाउँ जोगियाका केही व्यक्तिले लगडीगोठमा खेत किनेका छन् । नाताकुटुम्ब वारि भएकाले उनीहरूलाई खेत किन्न झमेला हुँदैन । वारिपट्टि सस्तोमा बढी जमिन पाइने हुँदा पारिका बासिन्दाले आफ्ना नाताकुटुम्बका नाममा नेपालतर्फ जग्गा किन्छन् । बौएलालले भने, ‘नेपालको दस कठ्ठा जमिन भारतमा २० कठ्ठा हुन्छ ।
एक खालकै जीवनशैली रहे पनि दुवै देशका नागरिकले आफ्नो सरकारबाट पाउने सेवासुविधामा आकाशजमिनको फरक छ । बौएलाल परिवारले सरकारबाट आवास सुविधाबापत १ लाख २० हजार भारतीय रुपैयाँ पाएको छ । छोरीचेलीलाई सजिलो गरी लेखपढ गराउने सुविधा छ । बच्चीहरूलाई विद्यालय जान आउन साइकल दिइएको छ । पोसाक, खाजा, स्टेसनरी लगायतका सुविधासँगै पढाइ पनि भरपर्दो भएको बौएलालले बताए ।
दुवैतर्फका सीमाक्षेत्रमा विकासको पर्खाइ मिल्दाजुल्दा रहनसहन र देशपार विवाहका कारण दसगजाको दुवैतर्फका बासिन्दाबीच अटुट सम्बन्ध छ । यससँगै दुवैतर्फका बासिन्दाको अपेक्षा पनि समान छ । त्यो हो– विकास । दुवैतर्फ पूर्वाधार विकासको स्थिति उस्तै छ । शिक्षा तथा स्वास्थ्य सेवामा जनताको पहुँच कमजोर छ । आधारभूत सुविधायुक्त अस्पताल दुवैतर्फ छैनन् । सीमावारिपारि कतै पनि स्तरीय विद्यालय छैन । जनताको आर्थिक अवस्था र जीविको पार्जनका आधारमा पनि खासै भिन्नता छैन ।
सीमा नदी मैनावत्ती दुवैतर्फका जनताको साझा समस्या हो । बर्खामा यो खोलामा बाढी आउँदा दुईतर्फी आवगमन रोकिन्छ । बाढीका बेला लगडीगोठका स्थानीयले यो खोलामा अस्थायी पुल बनाएर आउजाउ गर्छन् । बर्खायाममा यही पुलले दुवैतर्फका बासिन्दाबीचको सम्बन्ध धानिएको हुन्छ । जोगिया हुँदै किनमेलका लागि भारतीय बजार जयनगर जाने नेपाली उपभोतmाले दैनिक लाखौं रुपैयाँबराबरको कारोबार गर्ने गर्छन् । लगडीगोठका मात्रै नभएर यस भेगका एक दर्जन गाउँका उपभोतmा किनमेलका लागि जयनगर जान मैनावत्ती खोला तर्नुपर्छ ।
बर्खा र हिउँद दुवै समयमा यस भेगका नागरिक ओहोरदोहोर गर्ने भनेको बाँसको अस्थायी पुलबाटै हो । बर्से्नि असारमा नयाँ बाँस हालेर पुल मर्मत गर्नुपर्ने स्थानीय बताउँछन् । चुनावका बेला नेताहरूले स्थानीयलाई यो खोलामा पक्की पुल बनाइदिने लोभ देखाई भोट बटुल्ने गरे पनि जितेर गएपछि आफ्नो बाचा बिर्सिदिने गरेको स्थानीयको गुनासो छ । सीमा क्षेत्रको यो पुल निर्माणका लागि दुवैमध्ये कुनै पनि देशले गम्भीरता देखाएको छैन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »