दुई महिनामा सिरहामा हत्याका पा“च घटना

प्रकाशित समय 8:49:00 PM
शम्भु यादव
सिरहा, ११ असोज । गत साउन र भदौ दुई महिनामा सिरहामा हत्याका पाँच घटना भएका छन् । दुई जनाले बुवा र एक महिलाले सामान्य विवादमा सौतेलो छोरोको हत्या गरेका छन् । यो अवधिमा जग्गाको अंश मुद्दा लडिरहेकी एक महिलाको आफन्तबाट हत्या भएको छ भन्ने पछिल्लो एक हत्या घटनाको कारण खुलेको छैन ।
कर्जन्हा नगरपालिका–३ की ३० वर्षीया कौशिल्यदेवी सदायले साउन २२ गते सौतेलो छोरो ९ वर्षीय अभिषेक सदायको घाँटी थिचेर हत्या गरेकी थिइन् । प्रहरीले कौशिल्यलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
गोलबजार नगरपालिका–१० की कारीदेवी यादवलाई गत साउन २५ गते घरबाटै बेपत्ता गरी उनको हत्या भएको थियो । उनको हत्या जेठाजु रामदेव यादव र भतिज लक्ष्मण यादवले गरेको आरोप स्थानीयले लगाएका थिए । स्थानीयले रामदेव र लक्ष्मणलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । कारीदेवीको शव पनि स्थानीयले नै १६ दिनपछि फेला पारेका थिए । प्रहरी भने हत्यारा को हो भनेर निष्कर्षमा पुगिनसकेको जनाइएको छ ।
स्थानीयले बुझाएकै दुवै जनामाथि प्रहरीले ज्यान मुद्दा भने चलाएको छ । रामदेव र लक्ष्मणको बयानका आधारमा थप अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयका अनुसार रामदेव र कारीदेवीबीच अंश मुद्दा चल्दै थियो । कारीदेवीको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न प्रहरी ले चासो नलिएको भन्दै स्थानीय आन्दोलितसमेत भएका थिए ।
भदौ ८ गते लहान नगर पालिका–१५ मोहनपुरमा रक्सी खाएका बाबु र छोराबीच भनाभन भयो । सञ्जय सदायले बुवा दिलीपलाई बाँसको भाटाले हिर्काए । घाइते दिलीपको उपचारका क्रममा ज्यान गयो । प्रहरीले अभियुक्त सञ्जयलाई पक्राउ गरेको छ । छोराबुहारीले सामान्य विवादमै साउन २० गते लहान नगरपालिका–४ का अताबुल अन्सारीको पनि हत्या गरेको इलाका प्रहरी लहानले जनाएको छ । प्रहरीका अनुसार अन्सारीका छोरा कलाम अन्सारी र बुहारी रिजो खातुन फरार छन् ।
यसैगरी भदौ ३१ गते गोलबजार नगरपालिका–३ का हेमबहादुर ब्लोन तामाङको पनि घरमा सुतिरहेकै अवस्थामा हत्या भएको थियो । घटनाको डेढ साता बित्दा पनि प्रहरीले उनको हत्यामा संलग्न दोषी पत्ता लगाउन नसकेपछि स्थानीय आन्दोलित भएका छन् । उनीहरूले स्थानीय प्रहरी कार्यालय घेराउदेखि प्रहरी प्रमुख र स्थानीय सरकारका प्रमुखलाई विज्ञप्ति बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहा का प्रवक्ता डीएसपी माधवराज खरेलका अनुसार हत्या घटनामा प्रहरीले गम्भीरता पूर्वक अनुसन्धान थालेको छ । परिणाम नआएसम्म प्रहरीले के गरिरहेको छ भन्न नमिल्ने उनको भनाइ छ । शंका लागेका व्यक्तिलाई प्रहरी कार्यालयमा झिकाएर सोधपुछ गरिरहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »