मुलुक समृद्धिको पथमा आगाडी बढोस्

प्रकाशित समय 1:32:00 AM
गत वर्ष यतिवेला दशैं र तिहार पर्वभन्दा मंसीरमा तय आम चुनावको सरगर्मी थियो । तीन चरणमा भएको स्थानीय तहको निर्वाचन भर्खरै सकिएको सकियको थियो भने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सँघारमै आइपुगेकाले दशैंको माहोलमा थपिएको चुनावी रौनकले सिंगो मुलुक तरंगित थियो । राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चुनावी नाराले आम नेपालीको अपेक्षा समेत ह्वात्तै बढाइदिएको थियो । दशैं फेरि आइपुगेको छ । तर, गएको वर्ष झैं यो दशैंसँग उल्लासको राजनीतिक रङ मिसिएको छैन । घरघरमा दशैं भित्रिएको छ, तर मन पटक्कै पर्वमय हुनसकेको छैन ।
आमजनमा असन्तुष्टि र निराशाले घर गरेको छ । त्यसको प्रमुख कारण बनेको छ  उही राजनीति । दशैंताका नै जनतालाई स्थिरता र समृद्धिको सपना देखाएको त्यही राजनीतिले एक वर्षमै कटु विपनासँग साक्षात्कार गराएको आभास हुन थालेको छ । यस्तो अवस्था मुलुकको भविष्यका लागि सुखद संकेत पक्कै होइन । जनमानसमा किन असन्तुष्टि र निराशा बढेको छ ? यसबारे जान्न तीन तहका सरकार संंसद र राज्य संयन्त्रहरूका प्रस्तुति, कार्यसम्पादन र व्यवहार हेरे पुग्छ । पूरै एक वर्ष बिताइसकेका स्थानीय सरकारहरूको पहिलो वर्षको कार्यकाल नियाल्दा संवैधानिक आधारशिलामा अडिएका शक्तिशाली सरकार होइन, हिजोका स्थानीय निकायभन्दा पनि कमजोर र फितलो बनेको महसूस हुन्छ । अधिकांश स्थानीय सरकार जनताको घरदैलोमै सुशासनको अनुभूति दिलाउने भन्दा हिजो सिंहदरबारमा मौलाएका विकृति र विसंगतिलाई विकेन्द्रीकूत गर्नेमै तल्लीन देखिन्छन् । प्रादेशिक सरकारहरू त झनै बिजोग देखिएका छन् । यी सरकारहरू शासनको ९ महीनासम्म अधिकार, स्रोत र साधन नपाएको गुनासोमै रुमल्लिएका छन् ।
गएको वर्ष सम्पन्न तीनै तहका निर्वाचन, सामान्य आवधिक निर्वाचन मात्र थिएनन् ती त दशक लामो हिंसात्मक विद्रोह र करीब त्यति नै अवधिको राजनीतिक संक्रमणकाललाई औपचारिक रूपमै बिट मार्ने ऐतिहासिक प्रस्थानविन्दु थिए । बहुसंख्यकमा निर्वाचनपछि हिंसा र निरन्तरको अस्थिरताबाट अवरुद्ध आर्थिक विकासको बाटो खुल्ने अपेक्षा थियो । राजनीतिक स्थिरता र आर्थिक समृद्धिका चुनावी नाराले पनि यस्तो जनअपेक्षा चुलीमा र्पुयाउन मलजल गरे । निर्वाचित सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले झनै तरंग थपिदियो । तर विडम्बना, जनताले ती नारा, प्रतिबद्धता, भाषणलाई अनुभूत गर्न सकिरहेका छैनन् । सरकारले पानीजहाज र उत्तर–दक्षिण रेल–मार्गका महत्वाकांक्षी योजना र आश्वासन बाँडिरहँदा खानेपानी, स्वास्थ्य, शिक्षा, सडक जस्ता आम मानिसका दैनन्दिनका आवश्यकतालाई सहज पार्ने पहल देखिन्न ।
सरकारी अडाहरूमा खुलेआम घुसखोरी रोकिएको छैन, आकाशिंदो महँगी सरकारकै नियमन र नियन्त्रणमा छैन । जनताको सानातिना चासोलाई नै सम्बोधन गर्न नसकेको सरकार सम्हालिने होइन, ‘असफल बन्ने दौडमा देखिन्छ । जोखिम त के छ भने यसले सरकार मात्र होइन, राजनीतिप्रति नै जनतामा वितृष्णा बढाएको छ । निश्चय नै, जनतामा बाँडेका आश्वासन, पलाएका आशा र अपेक्षा पूरा गर्न समय लाग्छ । पाँच वर्ष पदावधि भएको सरकारले पहिलो वर्षमै सबै बाचा पूरा गर्नुपर्छ भन्नु आफैंमा अनुचित तर्क हो । तर, सही बाटो हिंडे ढिलै भए पनि गन्तव्यमा पुगिन्छ भन्ने आम सत्यबाट सरकार विमुख भएको देखिन्छ । र, तिनै तहका सरकार आफ्नो बाटो पहिल्याउन चुकेका छन् । परिणाम, आमनजरबाट सरकारको शिर गिरेको छ ।
असत्यमाथि सत्यको जित–दशैंको परम्परागत विश्वास हो । यो धार्मिक र पारम्परिक आस्था र विश्वासको पर्वको अवसरमा सरकारले पनि बिराएको बाटो बदल्न सकुन । जनतामा चुलिंदो असन्तुष्टि र निराशाका मर्म नियाल्ने प्रयत्न गर्न गरुन, जहाँबाट मुलुकको राजनीति जनअपेक्षासित जोडिने कोशिष गरुन, जनतामा सुशासनप्रतिको आशा र राजनीतिप्रति भरोशा पैदा गराउन प्रयास थालुन । समग्रमा, मुलुकको समृद्धि–मार्ग कोर्न सवैतहको सरकारले प्रयत्न थालुन् । यही प्रस्थान विन्दुनै बडा दशैं २०७५ को शुभकामना बनोस् भन्ने कामना छ । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »