धान खेती छाडेर सयपत्री

प्रकाशित समय 9:57:00 PM
सिरहा । समयमै फूल उत्पादन भएपछि सिरहाका व्यवसायी खुसी भएका छन् । फूल टिप्न र माला बुन्न उनीहरूले कामदार खटाएका छन् । जिरोमाइलका किसानले त गहुँ र धान छाडेर एक दशकयता सयपत्री उत्पादन गर्दै आएका छन् । माग बढेपछि फूलकै व्यावसायिक खेतीमा लागेको फुलकहा कट्टीका श्रीदेव चौधरीले सुनाए । विगतमा तरकारीका बिरुवा उत्पादन गर्ने उनले चाड पर्वका लागि फूल रोप्न थालेका थिए ।
उनले जिरोमाइलमा जग्गा भाडामा लिएर विभिन्न प्रजातिका फूलको खेती गर्दै आएका छन् । फुलकहाकट्टीकै कपिलदेव चौधरी, सुरेश महतोलगायत पनि यही व्यवसायमा छन् । उनीहरूले तीन बिघाभन्दा बढी जग्गामा खेती गरेका छन् । यहाँको उत्पादन सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी हुँदै वीरगन्ज र विराटनगरसम्म पुग्ने गरेको छ ।
श्रीदेवका अनुसार धानभन्दा फूलबाट आम्दानी बढी हुन्छ । आफूले १० जनालाई रोजगारी दिएको उनले सुनाए । ‘दसैं, तिहारदेखि छठ पर्वसम्म जति पनि फूल हामी उपलब्ध गराउन सक्छौं’, उनले भने । बिरुवा लगाएको तीन महिनामै उत्पादन भई आम्दानी हुने गरेको उनले सुनाए । ‘१० कट्ठामा अलि मिहिनेत गरियो भने खर्च कटाएर ४–५ लाख आम्दानी हुन्छ, कपिल देवले भने, ‘किन गर्नुप¥यो तरकारी खेती ?  उनका अनुसार मखमली प्रतिकिलो ८ सय र सयपत्री ४ सय रुपैयाँमा बिक्र हुँदै आएको छ ।
धनगढीमाई नगरपालिकाले यो क्षेत्रलाई फूलको ‘हब बनाउने लक्ष्य लिएको छ । यहाँ रहेका डेढ दर्जन फलफूल नर्सरीमध्ये उत्कृष्टलाई प्रत्येक वर्ष पुरस्कृत गरिने भएको छ । यो योजनापछि बाँझो जमिनसमेत खाली छैनन् । ‘यो ठाउँलाई बजारका रूपमा विकास गर्न अनेक प्रयत्न गर्यौं । तर, फलफूल नर्सरीको संख्या बढेपछि मात्र जिरोमाइलले बजारको चिनारी पायो, मेयर हरिनारायण चौधरीले भने, ‘त्यसैले हामीले जिरोमाइललाई फूलकै बजारको रूपमा स्थापित गर्न चाहेका छौं ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »