अपराध रोकथामको लागि स्थानीय तह र प्रहरीबीच सहकार्य

प्रकाशित समय 9:13:00 PM
कमलेश यादब
गोलबजार । विभिन्न कारणले हुने गरेको आपराधिक घटना रोकथाम र न्यूनीकरण गर्न विकृति विरुद्ध जनचेतना बिस्तार गर्न सिरहामा स्थानीय तह र प्रहरीबीच सहकार्य हुने भएको छ ।
सामुदायिक सुरक्षा सुदृढ गर्दै सिरहा प्रहरीले सिरहाका स्थानीय तहसँग संस्थागत सहकार्यमार्फत् अगाडि बढ्ने अभियान थालेको छ । शनिबार सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठ र जिल्लाका १७ वटै स्थानीय तहका मेयर तथा अध्यक्षहरुले समुदाय र प्रहरी साझेदारी अवधारणा तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रम मार्फत प्रतिबद्धता जनाएका छन् ।
समुदाय र प्रहरी साझेदारी अवधारण तथा समझदारी पत्र हस्ताक्षर तथा प्रतिबद्धता कार्यक्रममा प्रहरी उपरीक्षक श्रेष्ठले बेरोजगारी, अशिक्षा, न्यून आयस्रोत, गरिबी, एकल–अभिभावक परिवार, लागूऔषध दुव्र्यसन तथा ओसारपोसार लगायतका घटनासँग आपराधिक घटना सम्बन्धित हुने भएकाले स्थानीय तहसँग साझेदारी गरिएको बताए । ‘त्यसका अतिरिक्त मादकपदार्थ सेवन, शहरीकरण, अव्यवस्थित बस्ती, बसाई–सराई, अस्थिर जनसंख्या जस्ता सामाजिक कारणहरुसँग पनि अपारध जोडिएको हुन्छ  प्रहरी उपरीक्षक श्रेष्ठले भने ‘अपराध रोकथाम तथा सामाजिक सुरक्षा सचेतना अभिबृद्धि गर्न प्रहरीले मात्रै सम्भव नहुने भएकाले साझेदारीमा अभियान थालिएको हो ।
गाउँ, टोल, जिल्ला स्तरीय अभियान स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गरिने अभियानमा टोल स्तरीय समिति गठन गरी वडा हुँदै विद्यालय, गाउँपालिका, नगर र जिल्ला व्यापी बनाइने योजना रहेको छ । अभियान अन्तर्गत समुदाय स्तरीय समितिमार्फत् सुरक्षा चेतना अभिबृद्धि गर्न नगर, गाउँ र टोलमा साझा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिने छ । समुदायको सुरक्षाका लागि सामूहिक सहभागिता बढाउन सडक बत्ती, सुरक्षा गार्ड, सिसीटिभी लगायत सुरक्षाको प्रबन्ध गरिने अवधारणा पत्रमा उल्लेख गरिएको छ ।
सूचनातथा समन्वय केन्द्र सञ्चालन अवधारणा पत्रमा उल्लेख भए अनुसार मधेसका जिल्लाहरुमा विभिन्न चाडपर्वमा आयोजना गरिने मेलाहरुमा सुरक्षा व्यवस्था भरपर्दो बनाउन सूचना तथा समन्वय केन्द्र सञ्चालन गरिने छ ।
कार्यक्रममा सहभागी जिल्लाका स्थानीय तहका प्रमुखहरुले सामुदायिक सुरक्षा सचेतना अपराध रोकथामको सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले त्यसको रोकथाम, न्यूनीकरण र समुदायमा सुरक्षा सचेतना अभिबृद्धि गर्न समुदाय–प्रहरी साझेदारीमार्फत् अघि बढ्ने औंल्याए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले सुरक्षा विकासको अनिवार्य तथा पहिलो शर्त हुनुका साथै विकास सुरक्षित समाजको आधार भएकाले सामुदायिक प्रहरी सेवाको अवधारणा अनुरुप अपराध न्यूनीकरण र समुदायमा सुरक्षा सचेतना अभिबृद्धि गर्न साझेदारी गरिएको बताए । प्रजिअ पण्डितले समुदाय– प्रहरी, स्थानीय तह र स्थानीय प्रहरी इकाईबीचको समन्वय, सहकार्यबाट स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकीकृत रुपमा अगाडि बढाउन अभियान सफल हुने आशा व्यक्त गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »