सलहेश फूलबारी गन्तव्य सूचीमा परेपछि सिरहावासीमा विकासको आशा

प्रकाशित समय 10:04:00 PM
राजु विश्वकर्मा
लहान । पर्यटकीय क्षेत्र विस्तार गर्ने सिलसिलामा सरकारले नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पारेपछि सिरहाको लहान नगरपालिकाको पडरियास्थित सलहेश फूलबारीले जिल्लाकै विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।
सिरहाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको सलहेश फूलबारी संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्रालयले सार्वजनिक गरेको १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेपछि स्थानीय बासिन्दा उत्साहित भएका हुन् ।
प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गते मात्र फुल्ने फूलको दर्शन गर्न सलहेश फूलबारीमा ठुलो मेला लाग्ने गर्दछ । फूलबारीमा रहेको हारमको बोटमा वैशाख १ गतेका दिन मात्र अनौठो फूल फुल्ने र सोही दिनको साँझपख सो फूल ओइलाउने गर्छ ।   
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले नयाँ पर्यटकीय गन्तव्यहरु पहिचान गरेको हो ।
    सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान बजारदेखि पाँच किलोमिटर पश्चिम पूर्व–पश्चिम राजमार्गमा पर्ने राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौं दर्शनार्थीहरु आउने गरेका छन् । 
  राजा सलहेश र उनकी पे्रमिका मालिनीको पे्रम प्रतीकका रुपमा करीब १० विघाको प्राचीन फूलबारीको दुई वटा रुखको मध्य भागमा प्रत्येक वर्षको वैशाख १ गते एक जोडी माला देखिने गर्दछ । ती फूलका माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणको घुँइचो लाग्ने गर्छ ।
      सलहेश फूलबारीको संरक्षण र मेलाको उचित व्यवस्थापन गर्न कुनै पहल नभएको गुनासो उठिरहेका बेला सरकारले सलहेश फूलबारीलाई नयाँ पर्यटकीय गन्तव्यहरुको सूची समावेश गरेपछि स्थानीयवासी खुशी भएका छन् । 
ढिलै भए पनि सरकारले सलहेश फूलबारीलाई पर्यटकीय क्षेत्रको रुपमा मान्यता दिएपछि जिल्लाकै समग्र विकास हुने विश्वास बढेको स्थानीयवासी तथा पडरिया गाविसका पूर्व अध्यक्ष मागैन कामैत बताउछ । 
सलहेश तराईका पासवान जापितको इष्टदेव रहेको र ते¥हौं शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्त हुने, चर्म रोग, कुष्ठ रोग लगायतका ब्याधि हरण हुने जनविश्वास समेत रहेको छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटीहरु खोज्न भारतको विहार, पश्चिम बङ्गाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको सङख्यामा मानिस आउने गर्दछन् ।
सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र पे्रम सफल नहुँदा मालिनीले सलहेशको प्रतीक्षा गर्दै वैशाख १ गते फूलको माला लिएर देखापर्ने गरेको जनविश्वास रहिआएको छ । फूलबारीको मध्यभागमा रहेको मालिनी मन्दिरको दक्षिणतिर टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।
हरेक नयाँ वर्षको दिन फुल्ने यो फूललाई राजा जयबद्र्धन सलहेश र दौना मालिनीको पे्रम प्रतीकका रुपमा लिइने गरिएको मन्दिरका पुजारी वीरदेव धामी बताउछ । यही अवसरमा युवायुवती उक्त फूललाई साक्षी राखी प्रणय सूत्रमा समेत बाँधिने गर्दछन् ।
बाह्र बिघा क्षेत्रफलमा फैलिएको उक्त फूलबारीमा चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फूलबारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफैं उत्पन्न हुने गर्छ । यति मात्र हैन भाकल गर्ने जोसुकैको मनोकामना पनि पूरा हुने विश्वास रहेकाले भारतीय भक्तजनहरुसमेत आउने गरेका छन् । मेलामा आउने लाखौं भक्तजनमध्ये तीस प्रतिशत भारतीय हुने गरेका छन् ।
सलहेश फूलबारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी रहेका छन् । यस फूलबारीको शीतल जल ग्रहण गरेपछि क्रोध शान्त हुने गरेको जानकारहरु बताउँछन् ।यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्न सलहेश फूलबारीको पानी प्रयोग गरिनाका साथै माहामारी आउँदा पनि सलहेश फूलबारीको पानी औषधि मानेर खाने चलन छ । सलहेश फूलबारीको मन्दिर दर्शन गरेर पाएका सन्तानको मुण्डन गराउन निःसन्तान महिला यहाँ आउने गरेका छन् ।
सिरहाभित्र पूर्व कणाटकालीन अवशेषहरु रहेका छन् । राजा सलहेश दुषाद जातिका कूलदेवता भए पनि सबै जातजातिका लागि त्यतिकै पूजनीय र सम्मानयोग्य रहेको इतिहासविद् हरिकान्त लाल दास बताउछ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »