बा“ध भत्काएर खोला उत्खनन

प्रकाशित समय 10:00:00 PM
मिथिलेश यादव
लहान । लहान नगरपालिकाले खुट्टी खोला र यसका सहायक खोलामा नदीजन्य पदार्थ बिक्रीका लागि लगाएको ठेक्कामा अनियमितता भएको पाइएको छ । नगरपालिकाले ठेकेदारसँग गरेको सम्झौतामा चुरे संरक्षित क्षेत्र र आइइई (वातावरणीय प्रभाव मूल्यांकन) प्रतिवेदनमा उल्लेख भएअनुसार संकलन क्षेत्र नतोकेर नदी दोहनको बाटो खुला गरेकाले ठेक्का बन्दोबस्तमा अनियमितता को आशंका गरिएको हो ।
नगरपालिकाले उक्त ठेक्का सम्झौता खुस्बु साडी एन्ड बुटिक सेन्टर लहानसँग गरेको छ । १ करोड ८० लाख ४४ हजार २२२ रुपैयाँ ९० पैसाको ठेक्का सम्झौतामा नगरपालिकाले ठेकेदारलाई खोला दोहनका लागि छुट दिएको छ । आइइई रिपोर्टमा तोकिएको संकलन केन्द्र र संकलनका सर्त ठेकेदारलाई दिएको सम्झौतामा उल्लेख छैन । जसकारण ठेकेदारले गत असोज १२ बाट खोलामा अनियन्त्रित तवरले उत्खनन गर्दै आएका छन् । खोलामा अनियन्त्रित उत्खनन गरी दैनिक दुई सयभन्दा बढी ट्रयाक्टर बालुवा, गिटी ओसार्न थालिए पनि नगरपालिका कार्यालयले वास्ता गरेको छैन ।
खोलाबाट अनियन्त्रित वालुवा र गिटी झिक्ने कार्य भइरहेको सूचना प्राप्त भए पनि ठेक्का लगाउने लहान नगरपालिका र नियामक निकाय जिल्ला समन्वय समितिले कुनै पनि कारबाही गरेको छैन । नियम अनुसार नगरपालिकाको प्राविधिक टोलीले आइइई रिपोर्टका आधारमा जिपिएस मार्फत खोलाजन्य पदार्थको संकलन स्थल तोक्नुपर्छ । निश्चित स्थानबाट तोकिएको परिमाणमा मात्र ठेकेदारले खोलाजन्य पदार्थ झिक्न पाउने व्यवस्था छ ।
आइइई रिपोर्टमा खोला किनारबाट ५० मिटर क्षेत्रभित्र खोलाजन्य पदार्थ निकाल्न नदिने, खोलाको बहाव क्षेत्रबाट खोलाजन्य पदार्थ निकाल्न नदिनेलगायतका सावधानी अपनाउनुपर्ने उल्लेख छ । तर, नगरपालिकाले ठेकेदारलाई अनियन्त्रित दोहन गर्न बल पुग्ने गरी यी सर्त उल्लेख नगरी पत्र दिएको छ । सरकारले तोकेको चुरे संरक्षित क्षेत्रसमेत नगरपालिकाले पत्रमा उल्लेख गरेको छैन । ठेकेदारलाई दिइएको पत्रमा पहिलो किस्ता बुझाएको, दोस्रो र तेस्रो किस्ता बुझाउने मिति, नगरपालिकाले तोकिदिएको दरलगायतका तीन बुँदा छन् । जसमा वातावरण संरक्षणसम्बन्धी सर्त, जलाधार संरक्षणसम्बन्धी सर्त र आइइई रिपोर्टले निर्देश गरेका सर्त उल्लेख छैनन् ।
बाँध भत्काएर खोला दोहन सिरहा र सप्तरीको सीमामा पर्ने बलान खोलाको प्रवाह पूर्वतर्फ मोडिन थालेपछि दुई वर्षअघि तत्कालीन जलउत्पन्न प्रकोप नियन्त्रण विभागले करोडौं रकम खर्चेर नियन्त्रणका लागि बाँध निर्माण गरेको थियो । बाँध निर्माणपछि लहान क्षेत्रका थुपै्र बस्ती बाढी र ढुबानको जोखिमबाट जोगिए । घरखेत कटान हुनबाट बचे  । तर, नदी नियन्त्रणका लागि निर्माण गरिएको बाँध भत्काएर नै अनधिकृत रूपमा बलान खोलाबाट बालुवा र गिट्टी उत्खनन भइरहेको छ । नदीजन्य पदार्थ उत्खननको ठेक्का समेत नलागिसकेको यो खोलाबाट अनधिकृत रूपमा उत्खनन हुने बालुवा र गिटीमा नगरपालिकाले औपचारिक रूपमै कर संकलन गरिरहेको छ । उसले रसिद दिएरै नदी नियन्त्रण तथा सडक मर्मतसम्भार सेवा÷वातावरण सेवा शुल्कबापत ठेकेदारमार्फत कर उठाइरहेको छ । यो खोलामा नदीजन्य पदार्थ उत्खननका लागि लहान नगरपालिकाले ठेक्का लगाउन सूचना गरेको छ । तर, ठेक्काका लागि आवेदन भने परेका छैनन् ।
नियमन र नियन्त्रणकारी निकायको मौन समर्थनको लाभ दोहन गर्नेले उठाइरहेको स्थानीय रमभरोस महतोले बताए । अनधिकृत रूपमा उत्खन्न गरिएको खोलाजन्य पदार्थलाई नदी नियन्त्रण शुल्क लिएर रसिद दिन थालिएपछि ढुवानीकर्ताले ढुक्कसँग यसको ओसारपसार गरिरहेका छन् । बलान खोलाबाट अनधिकृत रूपमा (गिटी र बालुवा) झिकेबापत कसैलाई पनि रकम बुझाउनु पर्दैन । नगरपालिकाका ठेकेदारलाई बालुवाको प्रतिट्रयाक्टर एक सय रुपैयाँ र गिटीको दुई सय रुपैयाँ बुझाएपछि ढुवानीकर्ताले ढुक्कसँग दोहन गर्न पाउँछन्  । नदी नियन्त्रण शुल्कबापत सय रुपैयाँ बुझाएपछि बलान खोलाबाट एक ट्रयाक्टर बालुवा लिएर जान पाउने छुट पाएका ढुवानीकर्ताले भने उपभोतmासँग भने चल्तीकै रकम लिन्छन्  । बलान खोलामा जेसिभी लगाएर समेत उत्खनन भइरहेको पाइएको छ ।
लहान नगरपालिकाका राजस्व शाखा प्रमुख रामकृष्ण महतोले खोलामा संकलन केन्द्र नतोकिएको स्वीकार गरे  । ठेकेदारलाई दिइएको पत्रमा धेरै सर्त उल्लेख गर्न नसकिएको उनले बताए । उनले भने, ‘सर्तमा कडाइ र नियमन गर्ने हो भने खोला नै चल्दैन, खोला नचले नगरपालिकाको आम्दानी नै मर्छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज भट्टराईका अनुसार खुट्टी खोलाको ठेक्का सम्झौता हतारमा गर्नुपरेकाले धेरै कमजोरी हुन गएको बताए । ‘संकलन केन्द्र तोक्ने, दैनिक संकलनको परिमाण तोक्ने, संकलनका सर्त तोक्ने, सरकारले संकलन निषेध गरेका स्थानको पहिचान गरी निषेधित क्षेत्र तोक्नेजस्ता बुँदालाई समेट्न सकिएको छैन,  उनले भने, ‘अब त्यतातर्फ ध्यान दिनेछौं ।
लहान नगरपालिकामात्र नभई यहाँका स्थानीय सरकारहरू प्रकृति संरक्षणभन्दा पनि प्राकृतिक स्रोतको दोहनमा ध्यान केन्द्रित गरेको पाइएको छ । यसअघि गोलबजार नगर पालिकाले चुरे संरक्षित क्षेत्रबाट ढुंगा उत्खनन गरी बिक्री सुरु गरेको थियो । अमानतमा मान्छे राखेर गोलबजार नगरपालिकाले चुरे संरक्षित क्षेत्रबाट गरिरहेको उत्खननबारे नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि नियामक निकायले अनुगमन गरी गोलबजार नगरपालिकाको उक्त अनधिकृत काममा रोक लगाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »