ल्याब टेक्निसियनको भरमा सिरहाको प्राथमिक स्वास्थ्य केन्द्र

प्रकाशित समय 12:08:00 AM
मणिलाल विश्वकर्मा
लहान । दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँ पालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याब टेक्निसियन को भरमा संचालन भइरहेको छ ।
स्थायी दरबन्दीका चिकित्सक चार वर्षअघि नै सरुवा भएर गएपछि कोही पनि चिकित्सक नआएकाले निमित्त प्रमुखको रुपमा काम गरिरहेको ल्याब टेक्निसियन उमेशकुमार यादवले बताए । ‘स्थानीय दरबन्दीका चिकित्सक नै आउँदैनन, प्राथमिक स्वास्थ्य केन्द्र भएपनि गुणस्तरीय सेवा दिन सकेका छैनौं, जसोतसो स्वास्थ्य केन्द्र स्तरको सेवा प्रवाह गरेका छौं  निमित्त प्रमुख यादवले भने ।
१३ दरबन्दीमा आठ कार्यरत ः जिल्ला सदरमुकाम सिरहाबाट करिब १० किलोमिटर पूर्व र सिरहाको पूर्व पश्चिम सडकमा पर्ने कसहादेखि २० किलोमिटर दक्षिण भारतसँग जोडिएको औहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्थायी चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको छ । तर दरबन्दी अनुसार कर्मचारी नभएर आठ जना मात्र कार्यरत रहेको निमित्त प्रमुख यादवले बताए । स्वास्थ्य केन्द्रमा स्थायी चिकित्सकको दरबन्दी भएपनि २०७१ माघदेखि कोही चिकित्सक नभएको स्थानीय समाजसेवी प्रमोदकुमार यादव बताउँछन् ।
केन्द्रका निमित्त प्रमुख यादवका अनुसार केन्द्रमा अहिले एक जना अहेब, तीन जना अनमी, एक जना ल्याब टेक्निसियन र तीन जना कार्यालय सहयोगीको भरमा चलिरहेको छ । स्थायी चिकित्सकको दरबन्दी खाली रहेको र एक जना दरबन्दी रहेको स्वास्थ्य सहायक बरियारपट्टि गाउँपालिकाको स्वास्थ्य शाखामा गएपछि कोही आएका छैनन् ।
केन्द्रको २४ घण्टे प्रसुती सेवामा स्टाफ नर्स अनिवार्य भएपनि दरबन्दीका स्टाफ नर्स सरुवा भएर अन्यत्र गएपछि खाली रहेको छ । त्यस्तै तीन जनाको दरबन्दी रहेको अहेव पदमा एक जना मात्र कार्यरत छन् ।
भवन र चिकित्सक ठूलो चुनौती ः जिल्लाको दक्षिणी भेगमा पर्ने औरही, बरियारपट्टि, सुखीपुरको कविलासी, पोखरिया लगायतका करिब आधा दर्जन गाउँका सेवाग्राहीलाई लक्षित गरी स्थापना गरिएको केन्द्र भवन र स्थायी दरबन्दीको चिकित्सक अभाव रहेको गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले बताए ।
स्वास्थ्य केन्द्रको लागि १० का क्षेत्रफलमा निर्माणाधीन भवन अलपत्र परेको छ । ‘पुरानो र जीर्ण भवनको तीन कोठालाई प्रशासन, स्टोर र ओपिडीको रुपमा संचालन गरिरहेका छौं  निमित्त प्रमुख यादवले भने । ‘करिब १५ वर्ष अघिदेखि निर्माण थालिएको भवनको ठेकेदार कम्पनीले बीचमै छोडेर हिंडेपछि भवन अलपत्र परेको छ । गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले ‘शहरी विकास मन्त्रालय र स्वास्थ्य सेवा विभागमा ताकेता गरिरहेका छौं, समस्या जस्ताको त्यस्तै छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहा प्रशासन शाखाका शाखा अधिकृत उमेशलाल कर्णले केन्द्रमा दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यकर्मीको लागि मन्त्रालय, विभाग र लोकसेवा आयोगलाई बारम्बार पत्राचार गरिएको जानकारी दिए । ‘आगामी केही दिन भित्र आयोगले जिल्लाका लागि दिने चिकित्सक र स्वास्थ्यकर्मी मध्ये पहिलो प्राथमिकता औरहीलाई दिन्छौं  प्रशासन प्रमुख कर्णले भने ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »