दलितबीच नै छुवाछूत

प्रकाशित समय 8:43:00 PM
सिरहा । धनगढीमाई नगर पालिका–११ नैनपुरकी उमीदेवी दास (तत्मा)ले छोरीको विवाहमा इष्टमित्रलाई भोज खुवाउने सोच बनाएकी थिइन् । तर, छिमेकी राम समुदाय सँगै भोज खान तयार नहुँदा उनी खिन्न भएकी छन् । ‘छिमेकीले नै छुवाछूत गर्दा दुःख लाग्यो , उनले भनिन, ‘बाहिरबाट खाना बनाउने मान्छे ल्याएका थियौं । तैपनि, राम समुदायले भोज मा छोइन्छ भनेर सँगै खान मान्नुभएन ।
अरूले बनाएको भोज नखाने तर बेग्लै सरसामान दिए बनाएर खाने सर्त राम समुदायले राखे । उमीदेवीले चामल, दाल र तरकारी दिँदा उनीहरू बेग्लै बनाएर खान तयार भए । आफूहरूले राम समुदायसँग छुवाछूतको व्यवहार नराखेको उनले सुनाइन् । ‘जन्तीमा अन्य समुदायका व्यक्ति पनि आएका थिए । उनीहरुले छुवाछूतको व्यवहार देखाएनन, उनले भनिन, ‘आफ्नो समुदायभित्रै यस्तो व्यवहार भोग्नुपर्यो ।
जति भाषण गरे पनि व्यवहारमा परिवर्तन नदेखिएको उनको ठम्याइ छ । दलित समुदायभित्रै छुवाछूत देख्दा अचम्म लागेको सप्तरीबाट पाहुना आएकी हरिवतीदेवी दासले बताइन् । परम्परागत सोच भएका हरूले यस्तो व्यवहार देखाउने गरेको उनको भनाइ छ ।
स्थानीय शिवकुमार मण्डलको घरमा पनि चार वर्षअघि राम समुदायले भोज बहिष्कार गरेका थिए । ‘बुवा मुसहरु मण्डल बित्दा गाउँका सबैलाई एक छाक श्राद्ध भोज खुवाउने सोचें , उनले भने, ‘राम समुदायले अरूले बनाएको भोज खान इन्कार गरे ।  बेग्लै सरसामान माग्दा आफूले नदिएको उनले सुनाए ।
समुदायका केही व्यक्ति र युवा छुवाछूत सँगै भोज खान तयार भए पनि महिलाले नमानेको सुखरिया रामले बताए । ‘राम समुदायका केही महिला धामीले तत्मा समुदायले छोएको खाँदा देउता रिसाउँछ भन्छन , उनले भने, ‘त्यसैले हामी अलग्गै भोज खान्छौं । दलितबीचमै छुवाछूत देख्दा दुःख लाग्ने गरेको डोम समुदायका अगुवा रामचन्दर मरिकले बताए । ‘दलित समुदायले नै हामीसँग पनि कहिलेकाहीं छुवाछूतको व्यवहार देखाइरहेको छ , उनले भने, ‘हामी हाम्रै समुदायको विकृतिका कारण थप विभेदमा परेका छौं । कानुनी रुपमा छुवाछूत गर्न नपाउने भए पनि व्यवहारमा परिवर्तन आउन नसकेको दलित अधिकारकर्मी विनोद विसुन्केको भनाइ छ । ‘पुरातनवादी सोच कायमै छ , उनले भने, ‘यसले गर्दा पनि जातीय छुवाछूत हट्न सकेको छैन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »