भरत जर्घामगर
सिरहा। लहान–ठाँडी सडक खण्डको सखुवानान्कर कट्टी ४ खयरबोनास्थित मुख्य बजार रहेको जग्गा पूर्व गाविस अध्यक्ष खुशीलाल यादवले सुकुम्बासी को रुपमा पत्नीको नाममा नामसारी गराएको खुलेको छ ।
सखुवानानकरकट्टी गाउँ पालिकाले हाटबजार बिस्तार गर्ने क्रममा खयरबोना बजारको १९ का १४ धुर मध्ये २ कठा १० धुर जग्गा सुकुम्बासी समस्या समाधान आयोगका तत्कालीन जिल्ला अध्यक्षसँगको मिलोमतो मा आफू अध्यक्ष भएका बेलापूर्व गाविस अध्यक्ष यादवले २०५८ असार १९ गते आफ्नी कान्छी श्रीमति सुशिलादेवीको नाममा नामसारी गराएको तथ्य खुलेको हो । गतवर्ष हटियालाई व्यवस्थित गर्न गाउँपालिकाले दिएको २ कठा १० धुर जग्गाको जग्गाधनी पुर्जामा सुशिलादेवीको नाम उल्लेख भएको पाइएको हो ।
लहान–ठाँडी सडक खण्डको मुख्य सडक समेत परेको उक्त जग्गामा हाटबजारको निम्ति भौतिक पुर्वाधार बनाउने क्रममा गाउँपालिका कार्यालयले जग्गाको कागजात खोज्न थालेपछि पूर्वगाविस अध्यक्षले आफ्नी पत्नीलाई सुकुम्बासी बनाएर उक्त जग्गा नामसारी गराएको तथ्य फेला परेको सखुवानान्कारकट्टी गाउँपालिका ४ का वडाध्यक्ष रमेशकुमार महतोले पत्रकार सम्मेलनमा जानकारी दिए ।
वर्षौदेखि हटिया लाग्दै आएको हालको गाउँपालिकाको केन्द्र समेत रहेको जग्गामा आठ कोठे भवनको आधारभूत विद्यालय, स्वास्थ्य चौंकी, दुई कोठे सार्वजनिक शौचालय र हटिया स्थल छन् । सुशिलादेवीको नाममा नामसारी हुनुभन्दा पहिले उक्त जग्गामा निर्माण भएको स्वास्थ्य चौकी तथा प्राथमिक विद्यालय अहिले पनि सञ्चालनमा छ। त्यसबाहेक लहान–ठाँडी सडक खण्डको मुख्य सडक पनि उक्त जग्गामै परेको छ ।
आयोगबाट जग्गा प्राप्त गर्नुअगाडि नै पूर्वगाविस अध्यक्ष खुशीलाल र उनकी भाउजु तथा भाईहरुको संयुक्त नाममा दुई बिगाहाभन्दा बढी जग्गा मालपोत कार्यालयको स्रेस्तामा कायम रहेको देखिएको छ । पुर्ख्यौली सम्पति रहेका यादवले आफू गाविस अध्यक्ष रहेको बेला पत्नी को नाममा हाटबजार लाग्ने जग्गा हात पारेपछि अहिले गाउँपालिका भरी नै चर्चा बढेको छ ।
‘गाविसको हकहितमा लागि पर्नु हुन्छ भनेर सबै मिलैर उनलाई गाविस अध्यक्षमा जिताएका थियौ, तर उनले त हाटबजारको मुख्य जग्गा नै हडप्नुभयो, वडाध्यक्ष महतोले भने, ‘उक्त जग्गा फर्काउन कानूनी कारबाही गर्न जहाँ जानु परे पनि जान्छौं ।
‘२०५४ सालको स्थानीय निर्वाचनको बेला गाविस अध्यक्षमा निर्वा्चित भएका खुशीलालजीले त्यसपछि जुन् जुन दल शक्तिशाली भयो त्यही त्यही दलमा प्रवेश गर्दै गयो, संघीय समाजवादी फोरम सिरहाका जिल्ला सदस्य प्रयागलाल यादवले भने, ‘२०६३ सालपछि दल बदल्दै गत स्थानीय चुनावमा एमालेबाट वडा अध्यक्षमा चुनाव उठेका थिए तर असफल भए, कारण जग्गाको बचाउ गर्नु रहेको पछि खुल्यो ।
पूर्वगाविस अध्यक्ष यादवले बलान खोला छेउमा परेको केही जग्गामा घर बनाउन डर लागेकोले कान्छी पत्नीको नाममा सरकारी नियमानुसार जग्गा प्राप्त गरेको दाबी गरे । उनले कान्छी पत्नी सुशिला देवीको नाममा आफूले त्यो बेला कुनै सिफारिस नगरेको र चार खण्डको एक खण्ड रकम तिरेर जग्गा प्राप्त गरेको सञ्चार कर्मीसँग बताए ।
