दान दिएको जग्गामा बन्यो स्वास्थ्य चौकी भवन

प्रकाशित समय 12:06:00 AM
मणिलाल विश्वकर्मा
लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ का ४८ वर्षीय विन्देश्वर साहले चिया बेचेर किनेको जग्गामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन बनेको छ । साहले चिया बेचेर जोडेको २१ कट्ठा मध्ये ७ कट्ठा जग्गा स्वास्थ्य चौकीलाई दान दिएका थिए । ‘हरेक मानिस एक्लै जन्मिएर एक्लै मर्छ, जन्मेपछि मृत्यु नहुञ्जेल मानिस आफ्नो र परिवारका लागि सक्ने जति गर्छ तर मरेपछि नामबाहेक सबै छोडेर जान्छ,  साहले भने, ‘बाँचुञ्जेल दुःख सुख त सबैले गर्छन् तर मरेपछि सबैले नाम लिने काम गर्नुपर्छ भन्ने लागेर दुःख गरेर किनेको जग्गामध्ये सात कठ्ठा समाजका लागि दान गरेको हुँ । 
उक्त जग्गाको मूल्य हाल करिब डेढ करोड हाराहारी हुने स्थानीय हीरालाल यादवले बताए । सुनकोसी कन्स्ट्रक्सन प्रा.लि. नेपालले दुई तलाको १८ कोठे स्वास्थ्य चौकी भवन २५ असोज ०७५ मा निर्माण सम्पन्न गरेको छ । तर, हस्तान्तरण भने भएको छैन । साहले अंशका रूपमा १६ धुर जग्गा पाएको बताए । ‘चिया पसलको आम्दानीमध्ये घरव्यवहार, छोराछोरीको पढाइ खर्च कटाएर जोहो गरेको रकमले पटकपटक गरी २१ कट्ठा जग्गा जोड्न भ्याएँ,  उनले भने ।
रामपुर बजार क्षेत्रवासीलाई पायक पर्ने गरी स्वास्थ्य चौकी बनाउन दुःख गरेर जोडेको जग्गा दिन रत्तिभर अप्ठ्यारो नलागेको उनले बताए । ‘समाजकै सहयोगले जोडेको थिएँ, समाजकै भलाइका लागि दान गरेँ,  उनले भने, ‘बर्थिङ सेन्टर नहुँदा प्रसूति व्यथाले छट्पटाउँदै कतिपय गर्भवती महिलाको ज्यानसमेत गएको आफ्नै आँखाले देखेको छु, अब त्यस्तो अवस्था आउँदैन भन्ने लागेको छ ।  जिल्ला स्वास्थ्य कार्यालय सिरहाका शाखा अधिकृत उमेशलाल कर्णले साहले दान गरेको जग्गामा स्वास्थ्य चौकी भवन बनाउने योजनाअनुरूप भवन निर्माण सम्पन्न भएको बताए ।
एक दर्जन गाउँका बासिन्दा लाई सुविधा रामपुर स्वास्थ्य चौकी सञ्चालनपछि रामपुर गाउँवरि परिका करिब एक दर्जन गाउँका बासिन्दालाई सहज हुने स्थानीय बताउँछन् । महेशपुर पतारी, पोखरभिण्डा, पर्सा, पिप्रा, वैशखा, मोहनपुर कमलपुर, शिवनगर, कुर्वा, भवानीपुरका बिरामीले आधारभूत स्वास्थ्य सेवा पाउने स्थानीय समाजसेवी वीरेन्द्र साहले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »