उखुमा सरकारी अनुदान, किसानले पाएनन् ६ करोड

प्रकाशित समय 5:03:00 PM
सिरहाको नरहा गाउँपालिका–३ मा सञ्चालित हिमालय सुगर मिल्स।
शम्भु यादव
सिरहा  । नरहा गाउँपालिका–३ चोहर्वाका ताहिर मियाँले उखुको भुक्तानी पाए पनि सरकारी अनुदानको अत्तोपत्तो छैन । उनले घरनजिकै रहेको हिमालय सुगर मिल्सलाई गत ६ हजार क्विन्टल उखु बेचेका थिए । ६५ रुपैयाँका दरले उनले ३ लाख ९० हजार रुपैयाँ अनुदान पाएका छैनन् । अर्का किसान इसलाम राइनले पनि ४ हजार क्विन्टल उखुको अनुदानबापत २ लाख ६० हजार पाउन सकेका छैनन् ।
हिमालयमा उखु बेच्ने ५ हजार ६ सय ८१ किसानले अनुदानको ६ करोड २ लाख रुपैयाँ पाउन नसकेका हुन् । अनुदान पाउन उखु लगाएको जग्गाको लालपुर्जा चाहिन्छ । अधिया, बटैया र ठेक्का जग्गा लिएर खेती गरेका किसान ले लालपुर्जाको फोटोकपी दिन नसक्दा अनुदान भुक्तानी गर्न नसकिएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । ‘उखु बिक्री गर्न बाहिर जिल्ला जानुपर्दा २–३ बिघामा थोरै उखु गर्थे, ताहिरले भने, ‘घरनजिकै मिल सञ्चालनमा आएपछि खेत ठेक्कामा लिएर उत्पादन बढाएँ । तर, सरकारी अनुदान लिन झनझट हुँदा दिक्क लागेर आउँछ ।  जग्गा वालले लालपुर्जा नदिएको उनको भनाइ छ ।
‘अहिले उखु कटान हुने र फेरि लगाउने कार्य हुन्छ , उनले भने, ‘खेत ठेक्का दिनेले पनि पैसा मागिरहेको छ । हातमा पैसा नभएर मजदुर खोज्न मुस्किल परेको छ ।  मिलले ढिलै भए पनि किसान को खातामा रकम जम्मा गरि दिएको उनले सुनाए । भने, ‘सरकारी अनुदान पनि यसैगरी पाए हामी किसानलाई खेती गर्न सहज हुन्छ । 
अनुदानले समस्या बढाएको अर्का किसान साहित अन्सारीको भनाइ छ । ‘समयमै अनुदान पाए मलखाद किन्न, मजदुरलाई तिर्न हुन्थ्यो , उनले भने, ‘यस्तै झन्झट रह्यो भने खेती नै छाड्ने अवस्था आउँछ । मिलले सरकारी कार्यालय धाउन भन्छ । हामी खेती गरूँ कि कार्यालय धाउँदै हिँड्रँ ?  
सिरहा, सप्तरी, सुनसरी, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट का किसानले हिमालय सुगर मिल्समा ०७४र७५ मा १० लाख २१ हजार ६७ क्विन्टल उखु बेचेका थिए । सिरहाका किसानले ४ लाख ५३ हजार ७ सय ४५, धनुषाकाले ४ लाख ६१ हजार १ सय ९, सर्लाहीका ५६ हजार २ सय ६७, सप्तरीकाले ७ हजार ४ सय ५५, सुनसरी र मोरङकाले २२ हजार ५ सय ७९, बारा र रौतहटकाले १९ हजार ७ सय ६५, महोत्तरीकाले १ सय ४३ र ७९ भारतीयले १ हजार ६ सय क्विन्टल उखु बेचेको मिलका प्रमुख उखु प्रबन्ध अवधकिशोर यादवले बताए ।
‘हामीले प्रतिक्विन्टल ४ सय ६५ रुपैयाँका दरले कात्तिकभित्रै किसानको खातामा रकम जम्मा गरिदिएका थियौं , उनले भने, ‘तर, उनीहरूले सरकारी अनुदान पाउन सकेका छैनन् ।  उनका अनुसार किसानले प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान पाउँछन् । मिलले भुक्तानी गरेकै आधारमा अनुदान दिनुपर्ने र त्यसका लागि लालपुर्जा अनिवार्य नगर्नुपर्ने उनको भनाइ छ । मिलले उखु बेचेका किसानको खाता नम्बरसहितको विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख राधेश्याम गिरी का अनुसार अनुदान भुक्तानीका लागि बैंक खाता नम्बर र लालपुर्जा अनिवार्य चाहिन्छ । मिलले खाता नम्बर पठाए पनि लालपुर्जाको फोटोकपी उपलब्ध गराउन नसक्दा भुक्तानीमा कठिनाइ भएको उनले सुनाए । उनका अनुसार किसानलाई दिन ६ करोड २ लाख रुपैयाँ अनुदान आएको छ । ‘हामीले कार्य्विधि अनुसार मात्र भुक्तानी दिन सक्छौं , प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘त्यसो गरिएन भने बेरुजु देखिन्छ । त्यसका लागि मिललाई किसान को लालपुर्जा फोटोकपी उपलब्ध गराउन पत्र पठाएका छौं । कि त भुक्तानीका लागि कृषि मन्त्रालय ले लालपुर्जा चाहिँदैन भन्नुपर्यो । 
यहाँका किसानले मिललाई आवश्यक उखु उत्पादन गर्न सकिरहेका छैनन् । मिलको क्षमताअनुसार दैनिक २५ हजार क्विन्टल उखु चाहिन्छ । ‘कच्चा पदार्थ र उखु अभाव छ , प्रबन्धक यादवले भने, ‘किसानलाई उखु उत्पादनमा सहज होस् भनेर हामी चाँडै भुक्तानी गर्छौं ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »