छैन सरकार, भगवान् सहारा

प्रकाशित समय 8:06:00 PM
मिथिलेश यादव
सिरहा  । मिर्चैया नगरपालिका–९ देउराली टोलकी ७३ वर्षीया मनमाया क्यापछाकी मगरले घुर्मी खोलाको पानी खान थालेको दसकौं बित्यो । घुर्मी खोलामा कुवा खनेर संकलित पानीले धानेको उनको जिन्दगी फेरिएको छैन ।
वृद्धभत्ताका लागि उनी पहिला गाउँविकास समितिको कार्यालय धाउँथिन् । अहिले उही गाविस कार्यालयको नाम फेरिएर बनेको वडा कार्यालय पुग्छिन् । उपचारका लागि पहिलादेखि नै गोलबजार जानुपरिरहेको छ । मनमाया भन्छिन, ‘गाउँमै सबै सेवासुविधा आउने गरी व्यवस्था फेरिएको सुनेकी थिएँ, सबै झूट रहेछ । हाम्रो बस्तीमा न सरकार आए, न विकास ।  विगतदेखि नै कष्टपूर्ण दैनिकीमा परिवर्तन नभएको उनले बताइन् । उनले भनिन, ‘हामी गाविसबाट नगरपालिकाका नागरिक भयौं, यति हो परिवर्तन आएको । तर सुविधाका हिसाबले दुर्गम गाउँका बासिन्दाभन्दा पनि पछाडि छौं । 
५० वर्षीया बेलकुमारी राईले यसै बस्तीमा ६ जना सन्तान जन्माइन् । उनका ४ छोरी र २ छोरा छन् । गर्भवती जाँचदेखि सुत्केरी हुनलाई समेत घन्टौं हिँडेर सहर पुग्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । उनले भनिन, ‘आइरन चक्कीका लागि पनि सहरै पुग्नुपर्छ । ‘हामी बिरामी हुँदा सकेसम्म सहने र दबाउने प्रयास गर्छौ, दबाउन नसक्दा मात्र अस्पताल जान्छौं । सरकार बिरानो भए पनि भगवान् सहारा छ ।  गाउँमा स्वास्थ्य चौकी नहुँदा राई मात्र होइन, ५० घरधुरीको यो बस्तीका बासिन्दा स्वास्थ्य उपचारका लागि गोलबजार, चोहर्वा, मिर्चैया, लहानलगायतका सहरमा पुग्छन् । ‘हामीलाई सरकारले हेरेको छैन, बिरामी हुँदा सकेसम्म सहने र दबाउने प्रयास गर्छौं, उनले भनिन, ‘दबाउन नसक्दा मात्र अस्पताल जान्छौं । सरकार बिरानो भए पनि भगवान् सहारा छ ।
देउराली टोलकै अभिषेक सुनवार १४ वर्षका भए । उनी स्कुल जाँदैनन् । कारण हो गरिबी । जंगलमा भोर्लाको पात टिप्दैमा उनको दिन बित्छ । राति परिवार सँगै बाँसको मसिनो सिन्काले पात जोडेर ठूलो आकार बनाउँछन् । भोजभतेरका लागि प्रयोग हुने यो पात उनले मंगलबार र शनिबार गोलबजारमा लाग्ने हटिया पुर्याएर बिक्री गर्छन् । बिहीबार र आइतबार चोहर्वामा बेच्न जान्छन् । ‘पढ्न मन त छ तर स्कुल नजिक छैन । हिँडेर जान तीन घन्टा लाग्छ , भोर्लाको पात बेच्न हटिया हिँडेका सुनवारले भने, ‘दिनभर स्कुल जाँदा दानापानी बन्द हुन्छ । गाउँमै स्कुल भइदिए पढ्ने थिएँ । 
मिर्चैया नगरपालिका–९ देउरालीस्थित आदिवासी बस्ती । पूर्वपश्चिम राजमार्गदेखि झन्डै १५ किलोमिटर उत्तर चुरेको फेदमा यो बस्ती छ । बस्ती पुग्ने बाटो सहज छैन भने बिजुली र खानेपानी सुविधा पनि छैन । तीन दशकअघि बस्ती विस्तार भएको टोलमा तामाङ, राई, मगर, सुनवार, माझी समुदायका गरी ५० घर छन् । तीस वर्षअघि र पछि पनि बस्तीमा कुनै परिवर्तन नआएको सुनाउँछिन् ७३ वर्षीया मनमाया ।
देशमा पञ्चायत, बहुदल, गणतन्त्र, संघीयता आइसक्दा पनि आफूहरूको बस्तीमा कुनै परिवर्तन नभएको गुनासो उनीहरूको छ । सुकुम्बासी प्रमाण पुर्जा पाएको जग्गामा बसोबास गरेका उनीहरूलाई स्थानीय सरकार बनेपछि पनि परिवर्तनको आशा जागेको छैन । घुर्मी खोलामा पुल नहुँदा वर्षामा उनीहरू बस्तीमै घेरिन्छन् । बस्तीमा माटोले लिपेको भित्ता र जस्ता, टाली र खरले छाएका घर छन् ।
५० वर्षीया बेलकुमारीले भनिन्, ‘बस्तीमा खानेपानी सुविधा छैन, खोलाको पानी प्रयोग गर्छौं । नजिकैको छिमेकी गाउँमा बिजुली बत्ती बल्छ, तर हाम्रो घरमा टुकी ।  चुनावका बेला नेताहरूले आफू हरूलाई भोटका लागि मात्रै प्रयोग गरेको बेलकुमारीले बताइन् । ‘नेताले त ठगे नै हामीलाई नगरपालिकाले समेत ठगेको छ , उनले भनिन, ‘गाविसबाट नगर पालिका भइसक्दा पनि विकास मा बेवास्ता गरेपछि हामीले आस मारिसकेका छौं ।  बस्तीका युवती मजदुरीका लागि भारतको हिमाचल प्रदेश हानिन्छन् । ‘त्यहाँ उनीहरू औषधि उद्योगमा काम गर्छन, स्थानीय मनमयाले भनिन् ।
बस्तीमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै भेटिन्छन् । ‘बस्तीका युवा मजदुरीका लागि बाह्रैमास खटिन्छन , उनले भनिन, ‘टोलमा हामीजस्ता महिला र केटाकेटी मात्रै छौं ।  उनका अनुसार काम गर्नसक्ने महिला पनि दाउरा लिन जंगल जान्छन् । दिनभर बस्तीमा वृद्धवृद्धा र केटाकेटी मात्र भेटिन्छन् ।
राज्यले स्थानीय सरकारमार्फत राज्यप्रदत्त सेवासुविधाबाट वञ्चित रहेका नागरिकालाई स्थापित गर्नुपर्ने हो । तर, राज्यको सुविधामा सधैं रजाइँ गर्दै आएको समुदायकै हालीमुहाली हुँदा पिँधका जनतामा निराशा फैलिन थालेको सामाजिक अभियन्ता देवकुमार मोक्तान बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »