ठेलाले धानेको जिन्दगी

प्रकाशित समय 3:16:00 AM
मिथिलेश यादव
सिरहा । अशिक्षा, गरिबी र पीडालाई चिर्दै ‘म पनि केहि गर्न सक्छु  भन्ने महत्वाकांक्षी भावना लाई साकार पार्ने कार्य मजदुर पुस्ताका लागि कतिको चुनौती पूर्ण हो त्यो देविलालभन्दा राम्ररी कसलाई थाहा हुन सक्छ र¤
मधेसका मुसहरहरूको जिन्दगी भनेकै गिरहतको जनमज दुरीबाट सुरु भई जनमजदुरीमै समाप्त हुन्छ । स्वरोजगारी वा स्वतन्त्र भएर काम गर्ने कुरा उनीहरूका लागि सपनाजस्तै हो । त्यसमा पनि दुई दशकअघिसम्म गिरहतको गुलामीबाट फुत्किने कुरा मुसहर युवाका लागि निकै चुनौतीपूर्ण थियो ।
लहानको चोक, बजार एवं बस्तीमा २०४८ सालदेखि ठेला चलाउँदै आएका ५० वर्षीय देवीलाल सदाय गिरहतको जनमजदुरी गर्ने पुखर्यौली पेशालाई चुनौती दिने अगुवा युवा हुन् । उनले जनमदुरीभन्दा फरक बाटो रोजे– ठेला चलाउने । पहिला अरुको ठेला भाडामा चलाउथेँ । पछि त्यो ठेला आफैं किने ।
दुई दशकअघि पाँच हजारमा खरिद गरेको ठेला पेलेर उनी लाखौं कमाइसकेका छन् । उनले त्यहि भएर होला ठेलालाई ‘जीवन  भनेको । ‘पौरखले आर्जेको यो ठेला हो, मेरो जीवन भनेकै ठेला र ठेला भनेकै मेरो जीवन हो,  उनले भने, ‘बच्चाबच्चीको मुखमा अन्नको दानादेखि पढाई खर्च जुटाउने सहारा पनि यही ठेला हो । यसमै संघर्ष गर्दैछु ।  देवीलालको दुई सन्तान र पत्नीको लालन पालनको पिरलो छैन । ‘मिहिनेत गर्छु । बाँकी सबैथोक भगवानमाथि छाडिदिएको छु,  उनले भने । ‘भगवानले सबै पूरा गरिदिन्छ,  उनले थपे । ठूली छोरी १५ वर्षीया दिलकुमारी र कान्छी १२ वर्षीया रितुकुमारी लहान स्थित लक्ष्मण ललिता कुशवाहा माविमा पढ्छिन् ।
हुर्किरहेकी छोरी दिलकुमारीको बिहेको प्रबन्धका लागि उनलाई चिन्ता छैन । ‘ठेला पेलेर जतन गरेको पैसाबाट दिलकुमारीको बिहेको प्रबन्ध भइहाल्छ,  उनले भने, ‘नपुगेको किस्तामा उठाउँछु ।  उनले किस्तामा यसअघि पनि पैसा उठाएर पक्की घर, भैंसी जोरिसकेका छन् । किस्तामा उठाएको रकम ठेलाकै कमाईबाट चुक्ता गरिसकेको उनले बताए । पहिला पनि किस्ता उठाएर चुक्ता गरिसकेकाले उनी दृढ छन् । दिनभर मिहिनेत गरेर साँझ एक हजारदेखि १५ सय कमाएर घर फर्कन्छन् देवीलाल । दुई दशकअघि पाँच हजारमा खरिद गरेको ठेला पेलेर उनी लाखौं कमाइसकेका छन् । उनले त्यहि भएर होला ठेलालाई ‘जीवन  भनेको ।
यस नगरको इतिहास, आम मान्छेको संघर्ष एवं विकासक्रमको साक्षी हुुन् देवीलाल । पातलो बस्ती भएको विकासोन्मुख गाउँजस्तो लहानदेखि घना बस्तीले ढाकेको लहान सहरसम्म । तीन पटकको माओवादी आक्रमण खेपेको लहानदेखि मधेस आन्दोलनको उग्र रूपको उनी गवाही दिन्छन् । जंगल, खेत र पातलो बस्ती हुँदै विशाल सहरमा परिणत भएको लहानको इतिहासको उनी साक्षी हुन् । ‘उतिबेला फाट्टफुट्ट घर थिए । हिलो र कच्ची बाटोमा ट्याक्टरजस्तो वजनदार गाडीमा स्थानीय ओहोरदोहोर गर्थे,  उनी सम्झन्छन् । त्यो बेला हलुका मालसामान ढुवानीका लागि मानिस ठेला प्रयोग गर्थे । स्थानीय बजार घुम्न रिक्सा चढ्थे ।
ऊ बेलादेखि अहिलेसम्म थुप्रै परिवर्तन भए । नयाँ–नयाँ प्रविधि र वाहन भित्रिए । तर, देवीलालको दैनिक जीवनशैली फेरिएको छैन । बिहान झिसमिसैमै उनी लहान–३ विहारपुरस्थित मुसहर बस्तीबाट देवीलाल ठेला लिएर निस्कन्छन् । घरदेखि करिब तीन किमि पश्चिमको सहिद चोकको तरकारी बजारमा आइपुग्छन् । यो उनको व्यावसायिक ठेगाना हो । यहाँ उनलाई थोक तरकारी बिक्रेताहरूले कुरिरहेका हुन्छन् । उनी तरकारी बजार प्रवेश गर्छन् । तरकारीको पोका, बोरा उचालेर ठेलामा लोड गर्छन् । अनि होटल, स्कुल र व्यावसायिक प्रतिष्ठान हरूमा र्पुयाउँछन् ।
तरकारी बजारको काम सकेर उनी सिमेन्ट, छड र चामललाई ठेलामा राखेर घर तथा पसलसम्म र्पुयाउँछन् । नम्बर नचिन्ने गाह्रो उनले खल्तीमा जतिखेर पनि एउटा सानो थोत्रो मोबाइल राख्छन् । उनलाई आफ्नै मोबाइलको नम्बर थाहा छैन । जान्ने बुझ्नेलाई हेर्न लगाएर ग्राहक वा चिनेजानेकालाई नम्बर दिन्छन् । चलाउन नआउने हुनाले रिसिभ मात्र गर्छन् ।
‘यस सहरको म पुरानो ठेला वाला हो,  उनले गर्वका साथ परिचय दिन्छन् । स्थानीयले पनि उनलाई विश्वासिलो, भरपर्दो र मिजासिलो ठेलावाला भनेर चिन्ने गर्छन् । ‘ठेलावालामा उनीजतिको भरपर्दो मैले भेटाएको छैन, लहानस्थित होटल गोधुलीका म्यानेजर रमेश श्रेष्ठले भने ।  उनीसँग सम्पर्क भएदेखि तरकारी, चामल लगायतका सामान का लागि कहिल्यै धोखा खानु परेन, श्रेष्ठले थपे ।
तरकारी व्यापारी गुरदयाल महतले भने,‘लेखपढ नभए पनि देवीलाल लाई दोर्हयाएर अढाईराख्नुपर्दैन् । एक पटक भनेपछि टिपिहाल्ने, तेज दिमाग भएको मान्छे हुन उनी ।  गुरदयालको तरकारी पसल देवीलालको अर्को सम्पर्क अया हो । उनी पहिला अर्काको जग्गामा घर बनाएर वर्षौंसम्म लहानको बिहारमा बसेका रहेछन् । त्यसपछि धेरै वर्ष लगाएर बचत गरेको रकमले १५ वर्षअघि बिहारपुरमै जग्गा किनेर झुपडी बनाए । पछि बचत गरेको रकमले पक्कि घर ठड्याएका छन् । उनको पुर्खा अर्काकै जमिनमा झपडी टाँगेर जनमजदुरी गर्दै जिन्दगी गुजारे । ‘पुर्खाहरू सबै गिरहतकै जनमजदुरी गरेर जिन्दगी गुजारे,  उनले भने, ‘मैले पुख्र्यौली परम्परा तोडेर अर्को बाटो रोजे –संघर्षको बाटो ।
देवीलाल सानै हुँदा ज्यालादारी मजदुरी गरेर परिवार पाल्ने पिताको देहान्त भयो । किसान कोमा हली कामलाई निरन्तरता दिने कि अर्को बाटो रोज्ने उनीसँग दुई विकल्प थियो । उमेर नपुगेकाले नागरिकता बनेको थिए । नागरिकता नबनेकाले तेस्रो रोजगारीका लागि विदेश जाने विकल्प थिएन उनीसँग । पहिलो विकल्प पुर्खाले गर्दै आएको कामलाई निरन्तरता दिनु सजिलो थियो । तर, उनी अप्ठ्यारो बाटो रोजे– ठेला पेल्ने संघर्षको बाटो ।
पछिल्लो समय रिक्सा र ठेलाको विकल्पको रूपमा इ–रिक्साले बजार लिएको छ । पाइडलवाला रिक्सा विस्थापित नै भइसकेको छ । बजारमा ठेला पनि बिरलै भेटिन्छ । मालसमान ओसारपसारका लागि विद्युतले चल्ने ठेला समेत भित्रिएको छ । ‘ठेला त फलामको पती, लकडी र चक्काले बन्दो रहेछ,  देवीलाल भन्छन, ‘यसको मर्मत खर्च पनि सस्तो छ ।  उनले २७ वर्षयता पटक–पटक गरी पाँच–सात पटक ठेला बनाउन लगेका छन् । त्यतिबेला सखुवा काठ सस्तो भएको हुनाले दुई–चार हजारमै ठेला बन्थ्यो । अहिले त ३० हजार रूपैयाँभन्दा बढी पर्छ । सखुवा काठ पनि महँगो, फलाम पनि महँगो सबै थोक महँगो ।
विद्युतीय ठेला किन नकिनेको जिज्ञासामा उनले भने, ‘पाँच लाख लगानी लगाएर पनि कमाई उही हो । हजार पन्ू सयभन्दा बढी कमाई हुँदैन । किस्ता वापतको बैंकको ऋण चुकाउनु कि घर चलाउनु, मेरा लागि यही ठेला गज्जब छ । महिनाको ३०–४० हजार कमाई हुने उनले बताए । ‘अहिलेसम्म शरीरमा कुनै रोगले पनि छुन सकेको छैन । कमाई पनि हुने, व्यायाम पनि,  उनी मुस्कुराए ।
सम्मानको जीवन जीउन कठिन परिश्रम गर्दै आएका देविलाल आफ्नो कमाइबाटा सन्तुष्ट छन् । विदेशजतिको कमाई घरपरिवार सँग बसेरै गर्न पाएपछि उनी खुसी छन् । ‘भारी उठाउनु, ठेला पेल्नुलाई जीवनशैली बनाएका देवीलाल श्रममा विश्वास गर्छन् । भन्छन्, ‘श्रम गरेर सम्मानका साथ कमाई गर्छु, कसैलाई बिराउदिनँ । कसैले बिराउँदैन । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »