हुलाकी सडकको अतिक्रमण हटेन समयममा काम हुनेमा शंका

प्रकाशित समय 10:17:00 PM
शम्भु यादव
सिरहा,  । प्रधानमन्त्री भएका बेला गत वर्ष नेकपाका अध्यक्ष पुष्प कमल दाहालले हुलाकी सडक सिरहा खण्ड शिल्यानास गरेका थिए । तोकिएको समयमा काम पूरा हुने विश्वास सहित । तर, निर्माण थालेको एक वर्ष बिते पनि माटोको कामसमेत पूरा भएको छैन । सडकमा पर्ने बस्ती पनि हटाइएको छैन । कल्भर्टको काम पनि अधुरै छ ।
हुलाकी सडक संघर्ष समिति का संयोजक रामरिझन यादव गुनासो गर्छन, ‘एक वर्षमा माटोको काम सकेन, कहिले कल्भर्ट बन्छ र कहिले कालोपत्रे हुन्छ, उनले थपे, ‘समयमै काम पूरा गराउन यस भेगका स्थानीयले सरकार र निर्माण कम्पनीलाई दबाब दिनु आवश्यक छ । आफूहरूले सुरु गरेको रिले अनशन बलान र कमला पुलको लागि मात्रै नभएको उनले बताए । सडक पनि समय पूरा हुनुपर्ने उनले बताए ।
हुलाकी सडकमा जसोतसो काम भए पनि ठाउँठाउँमा अति क्रमण, मन्दिर र पार्कले निर्माण भइरहेको अर्नमा गाउँपालिका ५ का रामबाबु बताउँछन् । सडकमा बनेका अतिक्रमित बस्ती नहटे हुलाकी सडक नबन्ला कि भन्ने चिन्ता उनले व्यक्त गरे । ‘हामीलाई सडक निर्माण गर्न जिम्मेवारी दिएको हो , निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जिनियर चन्द्र नारायण यादवले भने, ‘अवरोध आएन भने तोकिएको समयभित्रै सक्छौं । बस्तीबाहेक क्षेत्रमा ७० प्रतिशत माटोको काम भइसकेको उनको दाबी छ । बस्तीमा माटोको काम बाँकी रहेको उनले सुनाए । ‘सडक डिभिजन कार्यालयले बस्तीको लागत पनि उठाएको छैन, खाली गराउने चिठी पनि दिएको छैन, उनले भने,‘ अवरोध को रूपमा बस्ती मात्रै देखिएको छ ।
१ सय २० कल्भर्टमध्ये ६० वटाको काम पूरा भइसकेको र बाँकीको फाल्गुन मसान्तभित्रै पूरा हुने उनले बताए । उनका अनुसार माटो सुकेपछि ग्राभेल हाल्ने काम हुन्छ । अहिले ग्राभेल स्टोक भइरहेको छ । ‘माटो सुकेर डेनसिटी पुगेपछि ग्राभेल हाल्छौँ, उनले भने, ‘सयम सडक निर्माण पूरा हुन बस्ती चाडैं सार्नपर्छ ।
सिरहा खण्डमा ८ वटा बस्ती सडकछेउमा पर्छन् । त्यहाँ कतै सडक साँघुरो हुने गरी अतिक्रमण भएको छ भने कतै सडकको बीच भागमै स–साना मन्दिर र पार्क निर्माण गरिएका छन । हुलाकी मार्गको अतिक्रमण र अवरोध हटाउन सरकारी निकायले भने चासो लिएको देखिँदैन ।
सिरहा अन्तर्गत बलानदेखि कमला नदीसम्मको २९.८८ किलोमिटर खण्डमा तीन वर्षभित्र हुलाकी सडक निर्माण गर्न ठेकेदार कम्पनीले गत वर्ष माघ २४ गतेबाट काम सुरु गरेको थियो । ११ मिटर चौडाइ भएको कालोपत्रे सडक निर्माणका लागि स्वच्छन्द–रोशन–महादेव खिम्ती जेभी कम्पनीसँग १ अर्ब २० करोड २० लाख रुपैयाँमा ठेक्क सम्झौता भएको हो । पुरानो, जीर्ण भएका र बन्न बाँकी गरी १ सय २० कल्भर्ट उक्त सडक खण्डमा निर्माण गरिनेछ । कम्पनीले सिरहाको बरियारपट्टी–खोक्सी र औरहा–गणेशपुर गरी दुई खण्डबाट हुलाकी सडकको निर्माण थालेको छ ।
हुलाकी सडक निर्माणपछि सिरहाको दक्षिणवर्ती भगवानपुर, ठाडी, इनरुवा, नवराजपुरलगायत चार दर्जन बस्तीका बासिन्दालाई सदरमुकाम आवतजावतमा सहज हुनेछ । हुलाकी सडक जीर्ण भएकै कारण ती क्षेत्रका बासिन्दा वर्षामा लहान हुँदै ६० किलोमिटर फन्को मारेर सिरहा बजार पुग्न बाध्य छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »