मिथिलेश यादव
लहान । शुक्रबार दिउँसो सिरहा प्रहरीले भारतीय नम्बरको ट्रक सहित हरियो मटर बरामद गरेको छ । अबैध रुपमा भारततर्फ तस्करी हुन लागेको अबस्थामा सिरहा नगरपालिका १७ (दशगजा) बाट प्रहरीले २१० बोरा हरियो मटर सहित बिआर ०१ जिए ४३१५ नम्बर को ट्रक नियन्त्रणमा लिएको हो ।
नेपालबाट अबैध रुपमा भारततर्फ तस्करी गरिरहेको अवस्थामा उक्त परिमाणको हरियो मटरसहितको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको सिरहा प्रहरी प्रमुख(एसपी) जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
गत साता सिरहा प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाटै अवैधानिक रुपमा ट्रयाक्टर र मीनी ट्रकमा भारततर्फ लैजादै गरेको ३२ सय ३६ किलो मरिच र २६ सय किलो हरियो मटर बरामद गरेको थियो ।
नियन्त्रणमा लिइएको मरीच र मटर तेश्रो मुलुकबाट नेपाल भित्र्याइएको र नेपालबाट अवैध बाटो हुँदै भारत पु¥याउन लागिएको खुल्न आएको प्रहरीले जनाएको छ । अवैध कार्यमा सिमावर्ती क्षेत्रमा विभिन्न फर्म संचालन गरेका व्यापारीहरु संलग्न रहेको खुल्न आएको प्रहरी स्रोतले जनाएको छ ।
तेश्रो मुलुकबाट नेपाल भित्र्याइए को मटर र मरीचलाई तस्करहरुले सिमावर्ती नाकासम्म पुर्याउने र त्यहाँबाट सीमामा तायनाथ सुरक्षाकर्मीसँग सेटिङ मिलाएर भारत र्पुयाउने गरिएको खुल्न आएको स्रोतले बतायो । सीमामा तैनाथ सुरक्षाकर्मीहरु मिलिदिँदा मटर, मरिच र मदिराको भारत तस्करी नियन्त्रण गर्न गाह्रो भएको एक प्रहरी अधिकारीले बताए ।
भारतमा कालो मरीच र हरियो मटरको भाउ राम्रो पाइने भएकाले नेपालमा सस्तो रहेको मरीच तस्करहरुले भारत तर्फ चोरी निकासी गर्ने गरेका छन् । नेपालमा तेस्रो मुलुकबाट आयातित मरिचको भाउ भारतीय मरिचको तुलनामा प्रतिकिलो तीन देखि चार सय रुपैयाँ कम पर्न थालेपछि भारततर्फको अवैध निर्यात पनि बढेको हो । नेपालमा तेस्रो मुलुक बाट आयात हुने मरिच बजारमा प्रतिकिलो साढे सात सयदेखि आठ सय रुपैयाँको भाउमा उपलब्ध छ । त्यही मरिच सीमापारी भारतमा एक हजारदेखि एक हजार पाँच सय रुपैयाँ
(नेपाली) प्रतिकिलोको भाउमा किनबेच भइरहेको छ । सीमापारी लगिएको मरिचको भुक्तानी भने भारतीय मुद्रामा हुने गरेको छ । मरिचको भाउमा रहेको अन्तर यसको कारोबार बढ्नुको एउटा कारण हो भने भारतीय रुपैयाँ अर्को आकर्षण हो ।
एक क्विन्टल मरिच वारीबाट पारी पुर्याउँदा ४० देखि ५० हजार रुपैयाँ नाफा आउने गरेको छ । त्यसका कारोबजारीले भरिया र दुवैतिरका सीमावर्ती सुरक्षा इकाइहरुका लागि खर्च छुट्याउँदा पनि क्विन्टलमा २५ देखि ३० हजार रुपैयाँ नाफा यसमा आउने भएपछि त्यसमा साझेदार रहेका दुवै तस्करका लागि पिरो मरिच गुलियो भएको छ । भारतीय कारोबारीले मरिचको भुक्तानी नेपाली पक्षलाई गर्दा भारतीय रुपैयाँमा गर्ने गरेका छन् ।
भारतीय रुपैयाँको कालोबजारी गर्ने गिरोहले सीमामा प्रतिशय भारतीय मुद्रामा साढे दुई प्रतिशत (नेपाली चार रुपैयाँ) दिएर हाथोहात किन्ने गरेका छन् । उनीहरुले त्यो भारतीय मुद्रामा आफ्नो नाफा थपेर बेच्ने गरेका छन् । भारतीय मुद्राको उपलब्धता भने सीमावर्ती क्षेत्रमा सधैं अपुग रहने भएपछि मरिच तस्करीको अर्को पाटोको रुपमा भारतीय मुद्राको कालोबजारीले सहजै ठाउँ बनाउन पाएको बजारका जानकारहरुको विश्लेषण छ । मरिचको तस्करीसँगै भारतीय मुद्राको कालोबजारीको यो धन्दाले तीव्रता पाएको छ ।
सीमावर्ती क्षेत्रमा मरिचको तस्करीसँग जोडिएर भारतीय मुद्राको अवैध सटही गर्ने दोहोरो धन्दाको सन्जाल यतिखेर मौलाएको छ । अमेरिकी डलरमा भुक्तानी गरेर तेस्रो मुलुकबाट आयात गरिएको मरिच अवैध रुपमा भारत निकासी गर्दा त्यसबाट आउने भारतीय मुद्रा ल्याई त्यसको कालोबारी पनि सँगसँगै भएपछि यो सन्जाल बढी संगठित किसिमको हुन पुगेको छ ।
