अभिलेखमा ४७ विद्यार्थी, कक्षामा शून्य

प्रकाशित समय 8:16:00 PM
मिथिलेश यादव
सिरहा । सखुवानन्कारकट्टी गाउँपालिका–२, सोठियाइनस्थित मनेलाल जनता माविमा कक्षा ११ र १२ मा ४७ विद्यार्थी अध्यनरत छन् । अभिलेखअनुसार कक्षा ११ मा २५ र कक्षा १२ मा २२ जना विद्यार्थी छन् । तर, कक्षामा पढाइ हुँदैन् ।
विद्यालय पुग्दा न अभिलेखमा भएका विद्यार्थी भेटिए न पढाउने शिक्षक भेटिए । भेटियो त विद्यार्थीको अभिलेख भरिएको रजिष्टरमात्र । रजिष्टरमा नाम भएका विद्यार्थी कक्षामा पढ्न आउँदैनन् । कक्षामा पढ्न नआए पनि उनीहरु परीक्षा फाराम भर्छन, तोकिएको परीक्षा केन्द्रमा पुग्छन् र परीक्षा दिन्छन् ।
०६७–०६८ सालमा ११ र १२ कक्षा सञ्चालन अनुमति पाएको मनेलाल माविका पहिलो ‘ब्याच  का विद्यार्थीले नियमित कक्षा लिन आएको शिक्षकहरु बताउँछन् । तर, पछिल्लो ‘ब्याच  का विद्यार्थी कक्षामा उपस्थित नभईकन वार्षिक परीक्षामा सहभागी हुँदै आएका छन् । विद्यार्थीले वर्षभरि को शुल्क पनि एकमुष्ट तिर्छन् ।
विद्यालयले विभिन शीर्षकमा कक्षा ११ का विद्यार्थीबाट वार्षिक चार हजार सात सय रुपैयाँ र कक्षा १२ का विद्यार्थीबाट चार हजार ५ सय रुपैयाँ शुल्क लिने गरेकोछ । शुल्क एकमुष्ट लिने गरिएको सहायक प्रधानाध्यापक श्रीप्रसाद यादवले बताए । उनका अनुसार विद्यालयले रजिष्ट्रेसन, परीक्षा, स्टेसनरी, पुस्तकालय र मासिक शिक्षणबापत शुल्क लिने गरेको छ । ‘स्थानीय नै शिक्षक हुँदा पठनपाठनमा लापरबाही बढेको छ, कोही बोल्न सक्दैनन् । शिक्षक हाजिर गर्छन् घर फर्कन्छन् । 
कक्षा सञ्चालन नभए पनि परीक्षाकै लागि विद्यालयले हाजिरी प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डको कार्यालय, लहानमा पठाउँदै आएको छ । प्रधानाध्यापक राजेन्द्र यादवका अनुसार खासगरी कक्षा ११ र १२ मा पढाउने छुट्टै शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको हो । शिक्षक नहुँंद कक्षा नभएको उनले बताए ।
कक्षा ११ र १२ मा पढाउने गरी एक शिक्षकको दरबन्दी पनि छ । ‘दरबन्दीका शिक्षक नियुक्त गर्न नसकेकाले समस्या भएको छ, छिट्टै नियुक्ति प्रक्रिया अघि बढाउँछौं,  उनले भने । विद्यालयमा व्यवस्थापन समिति नभएको दुई वर्षभन्दा धेरै भइसक्यो । ‘व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला बोलाउँदा पनि कसैले चासो देखाउँदैनन,  सहायक प्रधाना ध्यापक श्रीप्रसादले भने ।
स्थानीय बुद्धिजीवी रामसुफल यादवका अनुसार अधिकांश शिक्षक गाउँकै भएकाले पढाइमा उनीहरुले बेवास्ता गर्दै आएका छन् । व्यवस्थापन समिति गठनका लागि पनि पनि प्रधानाध्यापकले नै पहल नगरेको उनको गुनासो छ । ‘स्थानीय शिक्षक हुँदा विद्यालय मा पढाइप्रति लापरबाही बढेको छ, कोही बोल्न सक्दैनन्,  अर्का स्थानीय मनोज यादवले भने्, ‘शिक्षक हाजिर गर्छन् घर फर्कन्छन् । 
बेथिति यतिसम्म छ कि विद्यालयमा पुस्तकालय नभए पनि विद्यार्थीबाट पुस्तकालय शुल्क असुलिन्छ । सखुवानन्कार कट्टी गाउँपालिकाका शिक्षा शाखा प्रमुख विजय यादवका अनुसार पुस्तकालयबापत आर्थिक वर्ष २०७४–०७५ मा ५० हजार रुपैयाँ सो विद्यालयमा पठाइएको छ । चालु आर्थिक वर्षमा पनि विद्यालयका लागि पुस्तकालय बापत अनुदान आएको उनले बताए ।
कम्प्युटर प्रयोगात्मक हुँदैन कक्षा ६, ७ र ८ मा कम्प्युटर विषय पढाइ हुन्छ । तर, ती कक्षाका विद्यार्थीले कम्प्युटर प्रयोगात्मक गर्न पाउँदैनन् । किताबमा कम्प्युटर हेरेकै र पढेकै भरमा विद्यार्थी परीक्षा दिन्छन् । ‘हामी कम्प्युटर देखेकै छैनौं,  कक्षा ८ कि छात्रा करिनाकुमारी साहले भनिन, ‘किताबकै भरमा परीक्षा दिन्छौं । 
हामीले कम्प्युटर प्रयोगात्मक का लागि पटक पटक माग गर्दै आए पनि शिक्षक नभएको, कम्प्युटन नभएको वहानामा बनाएर पन्छाउने गरेको उनले बताइन । तै पनि हामीहरु परीक्षा दिनुअघि विभिन्न शिर्षकमा छुट्याइएको शुल्क तिरिरहेका छौं, उनले भनिन् । कम्प्युटर पढाउनकै लागि विद्यालयका शिक्षक नरेन्द्र गुप्तालाई कम्प्युटर शिक्षण सम्बन्धि तालिम पनि दिइएको विद्यालयका साहायक प्रअ यादवले भने ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »