सडक दुर्घटनामा वृद्धि

प्रकाशित समय 1:52:00 AM
राजु विश्वकर्मा
लहान । पूर्वपश्चिम राजमार्ग र सिरहाका अन्य सहायक सडकमा ट्राफिक सङ्केत र जेब्राक्रसिङ नहुदाँ सडक दुर्घटनामा वृद्धि भएको छ । सडकको दुवै छेउमा र बीचमा मार्किङ गरी रङपेन्टिङ र चौक चौकमा जेब्रा क्रसिङ्ग चिन्ह् नदिदाँ सवारी दुर्घटना बढ्दै गएको हो । 
सडकको मर्मत गरिएपनि पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वको कोशी ब्यारेजदेखि पश्चिमको कमलासम्म मार्किङ गरी रङपेन्टिङ र चौक चौकमा जेब्राक्र सिङ चिन्ह् नदिदाँ ती सडक दुर्घटनाका दृष्टिकोणले उच्च जोखिममा रहेका छन् । 
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ । सो अवधिमा भएको ६० वटा सवारी दुर्घटनामा १०५ सवारी साधन क्षतिग्रस्त भएका छन् । सवारी दुर्घटना बढ्दै जान थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेको विभिन्न चेकजाँच तथा छड्के जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार ५५० सवारी साधनलाई कारवाही गरी ८९ लाख ५७ हजार ५०० राजस्व संक्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।
यसरी सडक दुर्घटना हुनुमा विभिन्न कारण भए पनि सडकमा मार्किङ गरी रङपेन्टिङ र चौक चौकमा जेब्राक्रसिङ नहुनु मुख्य कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।  उनले भने, ‘‘सडकमा मार्किङ गरिएको छैन, चालकहरू लेन मिचेर सवारी साधान चलाएपनि मार्किङ नहुदाँ कारवाही गर्न सकिराखेका छैनौँ ।” सडकमा मार्किङ, रङपेन्टिङ र ठाउँ ठाउँमा जेब्राक्रसिङका लागि पटकपटक सडक डिभिजन कार्यालय लहान मा पत्राचार गरेपनि अहिले सम्म कुनै वास्ता हुन नसकेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ ।
सडकमा ति चिन्ह्हरू दिने दायित्व सडक डिभिजन कार्यालय लहानको भए पनि बजेट अभावका कारण देखाउँदै आफ्नो दायित्वबाट पन्छिदा सडक दुर्घटना बढेको स्थानीय वासीको गुनासो छ । सडकमा दिनहुँ दुर्घटना हुँदै आए पनि लाइनिङ र जेब्राक्रसिङ गर्नेतर्फ सडक डिभिजन कार्यालय यसप्रति गम्भीर नहुनु दुःखद भएको लहानका स्थानीयवासी श्रवण चौधरीले बताए । उनले भने, ‘‘सडकमा सवारी साधनको चाप अत्यधिक मात्रामा बढ्ेको छ, तर सडकको ठाउँ ठाउँमा खाल्डा खुल्डीसँगै सडकमा मार्किङ र लाइनिङ नदिँदा गाडी चलाउन समेत डर लाग्न थालेको छ ।”
पैदययात्रीदेखि ठूलो सवारी साधनसमेत एउटै सडकमा चल्ने भएकाले सडकमा लाइनिङ नहँुदा जथाभाबी रूपमा बाटो काट्ने, ओभरटेक गर्ने जस्ता प्रवृति बढेकाले सडक दुर्घटना बढेको सिरहा गोलबजारका समाजसेवी जगदिश साहले बताए । 
यता सडक डिभिजन कार्यालय लहानका प्रमुख जितेन्द्रकुमार चौधरीले बजेट नहुँदा सडकमा मार्किङ, रङपेन्टिङ तथा जेब्रा क्रसिङ बनाउन नसकिएको जान कारी दिए । सडकमा मार्किङ, रङपेिन्टङ र जेब्राक्रसिङ बनाउन बजेट थोरै छ, प्रमुख चौधरीले भने, ‘‘थोरै बजेटकै कारण सडकमा त्यस्ता कामहरू गर्न नसकिएको हो ।” राजमार्गलाई स्तरोन्नति गरी ६ लेनमा विस्तार गरिने भएकाले पनि त्यसमा बजेट खर्च नगरिएको समेत उनको भनाइ छ । 
सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले सडकमा विभिन्न किसिम का चेकजाँचदेखि विद्यालय कलेजसम्म ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सडकमा सावधानीका लागि विभिन्न संकेतले मात्र नपुगेर थोत्रा सवारीलाई नै राखि दिए पनि दुर्घटना न्यूनीकरण हुन नसकेको ट्राफिक प्रमुख बस्नेतको कथन छ । 
पहिलो पटक सवारी चालकको स्वास्थ्यलाई नै लक्षित गरेर सडक मै स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम समेत ट्राफिक प्रहरीले चलाएको थियो । राजमार्ग तथा सहायक सडकमा लाइनिङ र जेब्राक्रसिङ नहुनुका साथै राजमार्गमा सवारी चाप बढी हुनु, राजमार्ग छेउ नै हाटबजार लाग्नु, छाडा चौपायाका कारण र चालकको सानो लाप रवाही, मादकपदार्थ सेवन जस्ता कारणले सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »