संघीय सरकारको विभेदकारी नीतिविरुद्ध प्रदेश सरकार ः मुख्यमन्त्री राउत

प्रकाशित समय 10:08:00 PM
लहान । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले प्रदेश सरकार संघीय सरकारको विभेदकारी नीतिविरुद्ध प्रदेशअन्तर्गतका सबै जात, भाषभाषी, संस्कृति मान्ने जनता को पक्षमा उभिएको बताएका छन् । 
तामाङ् जातिको नयाँ वर्ष २८५५ सोनाम ल्होछार (फाग ल्हो–सुँगुर वर्ष) को अवसरमा मंगलबार सिरहाको गोलबजारमा आयोजित बृहत् सांस्कृतिक साँझको उद्धाटन गर्दै मुख्यमन्त्री राउतले कुनै जाती, धर्म वा सांस्कृतिक पर्व विकासको बाधक नहुने औंल्याए । ‘बहुजातीय मुलुकका जनताका आ–आफ्ना मौलिक सांस्कृतिक चाड पर्वमा एक दिन विदा दिंदा विकास निर्माणमा बाधा पुग्दैन  मुख्य मन्त्री राउतले भने, ‘त्योभन्दा बढी त भ्रष्टाचार, कुशासन र ढिला सुस्तीले विकासको गति अवरुद्ध गर्छ  ।
सांस्कृतिक कार्यक्रमको उद्धाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कुनै खास चाड पर्वमा भने हप्तौ विदा दिने तर कसैले कमाउने मौलिक पर्वमा भने विदा कटौती गरेर संघीय सरकारले एउटै मुलुकका जनता माथि विभेद गरिरहको बताए । ‘फरक भाषा, संस्कृति भएका जनता लाई मौलिक चाडपर्वमा खुशी साटासाट गर्न एक दिन समेत विदा नदिएर संघीय सरकारले विभेद गरेको छ , उनले भने, ‘प्रदेश सरकार संघीय सरकार को यस्तो विभेद कारी नीतिविरुद्ध उभिएको छ ।    
५० प्रतिशत महिला आरक्षण  प्रदेश संसदले भर्खरै पारित गरेको प्रदेश प्रहरी ऐन तथा निजामति ऐनले महिलालाई ५० प्रतिशत आरक्षण व्यवस्था गरेको मुख्य मन्त्री राउतले बताए । उनले भने, ‘अब छोरीहरूले पढेर बेरोजगार बस्नु पर्दैन ।  ‘प्रदेश सरकारले ल्याएको ५० प्रतिशत अनिवार्य आरक्षणको व्यवस्थाले महिला लाई रोजगारीसँगै अन्य क्षेत्रमा आत्मनिर्भर सेमत बनाउने छ  मुख्यमन्त्री राउतले भने, ‘फल स्वरुप मधेशमा बढ्दो लैंगिक विभेद र महिला हिंसा घटाउने छ  । 
दलितका लागि निःशुल्क शिक्षा  प्रदेश २ अन्तर्गतका आठ जिल्लामा सबैभन्दा बढी दलितको जनसंख्या रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा पर्ने जिल्लाका दलित विद्यार्थीका लागि आवास र खानपिनसहित निःशुल्क उच्च शिक्षाको व्यवस्था गरिने बताए । प्रदेश सदनमा विचाराधीन दलित सशक्तिकरण विधेयक छलफलको क्रममा रहेको र पारित भएपछि त्यसले दलित सशक्तिकरणका लागि धेरै काम गर्ने उनको दावी थियो । 
कार्यक्रमको उद्धाटन समारोह मा संघीय सांसद लीलानाथ श्रेष्ठ, पूर्व मन्त्री विश्वनाथ साह, प्रदेश सांसद्हरु लगायतको उपस्थिति थियो । त्यसअघि मुख्यमन्त्री राउत गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसको आयोजनामा भएको स्वागत कार्यक्रममा सरिक हुँदै क्याम्पसको भौतिक पूर्वाधार र पठन–पाठनको अवलोकन गरेका थिए ।
सोनाम ल्होछार मनाउने तामाङ को जनसंख्या प्रदेश २ अन्तर्गत पर्ने आठ जिल्लामा कुल जन संख्याको ७.६९ प्रतिशत अर्थात् एक लाख १७ हजार ६८० छ भने सिरहामा १७ हजारको हारहारीमा रहेको नेपाल तामाङ् घेदुङ् सिरहाका अध्यक्ष धनप्रसाद मोक्तानले बताए । ल्होछारमा तामाङ् समुदायले आफन्त भेटघाट, शुभकामना आदानप्रदान, मौलिक सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम उल्लास पूर्वक मनाउने गर्छन् ।  बिहीबार सम्म चल्ने तीने सांस्कृतिक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, गायक राजेश पायल राई, बुद्ध लामा, सन्तोष लामा लगायतका कलाकारको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुती रहने ल्होछार मूल आयोजक समितिका अध्यक्ष नवीन लामाले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »