दानमा प्राप्त जग्गामा बन्यो स्वास्थ्यचौकी

प्रकाशित समय 1:11:00 AM
मणिलाल विश्वकर्मा
लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– १ रामपुर बजारमा दानमा प्राप्त जग्गामा स्वास्थ्य चौकी खडा भएको छ । बुधबार स्थानीय सरकारलाई भवन हस्तान्तरण भयो । संघीय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका प्रतिनिधिको रोहबरमा निर्माण कम्पनीले वडा कार्यालयलाई भवन हस्तान्तरण गरेको हो । रामपुर बजारमा चिया पसल सञ्चालन गर्दै आएका ४८ वर्षीय विन्देश्वर साहले स्वास्थ्यचौकी भवन निर्माणका लागि सात का जग्गा दिएका थिए । साहले ५ वर्षअघि प्रदान गरेको जग्गा मा हाल दुई तलाको १८ कोठे भवन निर्माण भएको हो । 
दर्जन गाउँवासीलाई लाभ स्वास्थ्यचौकी सञ्चालनमा आएपछि रामपुर गाउँवरपरका करिब एक दर्जन गाउँका बासिन्दाले सेवा लिन सक्ने स्थानीय वीरेन्द्र साहले जानकारी दिए । महेशपुर पतारी, पोखर भिन्डा, पर्सा, पिप्रा, वैशखा, मोहनपुर कमलपुर, शिवनगर, कुर्वा, भवानीपुरका बिरामीले आधारभूत स्वास्थ्य सेवा पाउने स्वास्थ्यचौकी प्रमुख मण्डल ले बताए । गाउँपालिका अध्यक्ष रामबल्लभ साह, प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत, स्वास्थ्यचौकी प्रमुख सरोज मण्डललगायतको सहभागिता रहेको कार्यक्रममा वडाध्यक्ष मनिकलाल यादवलाई भवनको साँचो हस्तान्तरण गरिएको थियो ।
बर्थिङ सेन्टर सञ्चालनको चिन्ता जग्गादाता साहले राजनीतिक दाउपेचमा परेर स्वास्थ्यचौकीले बर्थिङ सेन्टर नबनाउने हो कि भन्ने आशंका व्यक्त गरे । ‘बर्थिङ सेन्टर नहुँदा प्रसूति व्यथाले छटपटा उँदै कतिपय गर्भवती महिला को ज्यानसमेत गएको देखेको छु, जग्गादाता साहले भने, ‘दुःखले कमाएर जोडेको जग्गा दान गरेपछि भवन त बन्यो, तर राजनीतिक दाउपेचले बर्थिङ सेन्टर सञ्चालन नहुने पो हो कि भन्ने चिन्ता छ । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »