विपन्न अवस्थाका दलित परिवारमा पलायो पक्की घर पाइने आशा
मणिलाल विक
लहान । कपडाले बेरेको थोत्रो टहरो मा वर्षौँदेखि जीवन गुजारा गर्दै आएकी ५५ वर्षीया एकल महिला दशनी मरिकलाई दुःखका दिन फेरिने आशा पलाएको छ । सिरहाको लहान–५ खुट्टीखोला पारि ऐलानी बगरमा बस्दै आएका उनीजस्तै अन्य ९० परिवारमा पनि त्यो आशा पलाएको छ । कारण हो, एकीकृत बस्ती बन्ने आशा ।
जेनतेन ठडिएका टहरोनजिकै आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एकीकृत बस्ती शिला न्यास गरे । मन्त्रालयअन्तर्गतको तराई–मधेस समृद्धि कार्यक्रमले ९० लाख र लहान नगरपालिकाले नौ लाख गरी ९९ लाख पैयाँको लगानीमा बस्ती निर्माण हुन लागेको हो । त्यहाँ १० वटा पक्की घरसहित एकीकृत बस्ती निर्माण हुने भएपछि बस्तीका मुस्लिम, डोम, मुसहर समुदायका अति बिपन्न खुसी भएका हुन् ।
गत ६ चैतमा सम्झौता भएको सो बस्ती २० असार ०७६ मा निर्माण सम्पन्न हुने नगर प्रमुख मुनि साहले जानकारी दिए । पहिलो चरणमा अतिविपन्न १० परिवारलाई ती घर हस्तान्तरण गरिने नगर प्रमुख साहले बताए । ‘कैयौँ हिउँद–वर्षा कपडाले बारेको थोत्रो टहरोमा बित्यो, मरिकले खुसी व्यक्त गर्दै भनिन्, अब नयाँ जीवन पाउने भयौँ । अर्की महिला कौशिल्या मरिकले पनि नयाँ घर बनेपछि जीवन केही सहज हुने आशा व्यक्त गरिन् ।
मन्त्री पण्डितले आइतबार नै सिरहाको गोलबजार–३ जमदह कालाबन्जरमा तराई मधेस समृद्धि कार्यक्रमको एक करोड र नगरपालिकाको १० लाख पैयाँ लागतमा निर्माण हुने १० वटा घरको नमुना दलित बस्तीको पनि शिलान्यास गरे । यस्तै, भगवानपुर गाउँपालिका–२ नहरा रिगौल स्थित लक्ष्मीनारायण कौशल्या जनता माविको भवन निर्माणको शिलान्यास गरे ।
कोही आवासविहीन हुनुपर्दैन ः मन्त्री पण्डित मन्त्री पण्डितले लहान–५ मा रहेको शिवशक्ति आधारभूत विद्यालयको भवन समेत शिलान्यास गरे । एकीकृत बस्ती र विद्यालयको शिलान्यास पछि आयोजित समारोहमा मन्त्री पण्डितले भने, ‘बस्ती र विद्यालय भवन निर्माणपछि नयाँ दैनिकीको थालनी हुनेछ । चालू आर्थिक वर्षमा तराई–मधेसअन्तर्गतका २१ जिल्लाका लागि पाँच अर्ब ३० करोड बजेट छुट्याएको भन्दै मन्त्री पण्डितले दलित बस्ती, विद्यालय, बर्थिङ सेन्टर, स्वास्थ्य चौकी, नदी नियन्त्रणजस्ता कार्यक्रम का लागि संघीय मामिला तथा प्रशासन मन्त्रालय को दुई अर्ब पाँच करोड र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तीन अर्ब २५ करोड पैयाँ छुट्याइएको बताए ।
‘भौतिक पूर्वाधार तथा मानवीय विकासमा पछाडि रहेको तराई–मधेसको समृद्धिका लागि सरकार प्रतिबद्ध छ, कम्युनिस्ट सरकारकै पालामा आवासविहीन लाई घर उपलब्ध गराइनेछ । आगामी आर्थिक वर्षदेखि वृद्ध वृद्धाको सामाजिक सुरक्षा भत्ता पनि बढाइनेछ, उनले भने, ‘कसैले पनि गरिब हुनुपर्दैन, बेरोजगारका लागि रोजगार र भत्ता पनि दिइनेछ ।
