धमाधम रोकिंदै बालविवाह, बाल विवाह न्यूनीकरणका लागि र्याली प्रदर्शन

प्रकाशित समय 1:39:00 AM
आशा विश्वकर्मा
लहान,२० फागुन । मुलुकी अपराध संहिता ऐन– २०७४ अनुसार २० वर्ष नपुुगी विवाह गर्न बन्देज छ तर न्यून चेतना, अशिक्षा, गरिबी, दाइजो जस्ता कारणले विशेषतः छोरीको विवाह २० वर्ष नटेक्दै गरिदिने हानिकारक चलन छ । उमेर नपुगी हुने विवाहले छोरीको शारीरिक, मानसिक र पारिवारिक जीवनमा पर्ने असरसँगै जीवन नै अन्यौलग्रस्त बन्ने भएकाले त्यसको विषयमा अभिभावकलाई बुझाउने, सचेत गर्ने अभियान पनि संचालन गर्न थालिएको छ । 
सिरहाको लहान नगरपालिका १५ ढोढनामा मंगलबार दलित जनकल्याण युवा क्लवको आयोजनामा बाल विवाह न्यूनीकरणका लागि र्याली प्रदर्शन र कोणसभा गरिएको छ । लहान १५ वडा कार्यालय, ढोढना वीरनगरस्थित सगरमाथा मा.वि.बाल क्लव, स्वतन्त्र हरवा चरवा अधिकार मञ्च र महिला अधिकार मञ्चको सहकार्यमा निकालिएको र्यालीमा ‘बेटी बचाउ, बेटी पढाउ, विहेबारी २० वर्ष पारी, दहेज लिनेलाई कारबाही गर, छोराछोरीमा भेद्भावन नगरौं’ लगायतका नारासहित विद्यालय परिसरबकाट निस्किएको र्याली वडा कार्यालय, वीरनगर र ढोढना गाउँ परिक्रमा गरी वडा कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । 
कोणसभामा वक्ताहरुले बाल विवाह अन्त्य गरी छोराछोरीको भविष्यका लागि जिम्मेबार बन्न आग्रह गरे । कोणसभामा विद्यालयका प्रधानाध्यापक दोस्तबहादुर भट्टराई, वडा सचिव बनहुलाल चौधरी, लहान १५ की वडा सदस्य रामकुमारी दास, बाल क्लवका अध्यक्ष हरिओम महतो लगायतले बाल विवाह अन्त्यका लागि बसैजना जुट्नु पर्नेमा जोड दिए । लहान १५ का वडा ध्यक्ष तेजनारायण चौधरीले बाल क्लव, स्थानीय महिला समूह, विद्यार्थीले योजनाबद्ध रुपले समुदायमा बाल विवाह विरुद्ध अभियान चलाउनु पर्ने र तयसमा वडा कार्यालयको सहयोग रहेने बताउनु भएको छ । ‘बाल क्लवमार्फत् विभिन्न सामाजिक कुरीति हन्त्य गर्न सहज हुने भएकाले समुदायका हरेक घरमा बाल क्लव पुग्न जरुरी छ’ वडाध्यक्ष चौधरीले भन्नुभयो ।  
किशोर किशोरी समिति गठन
यसैबीच, बाल विवाह न्यूनीकरणका लागि लहान नगरपालिका १७ गोविन्दपुरमा वडाध्यक्ष प्रथमलाल चौधरीको उपस्थितिमा २५ सदस्यीय किशोर किशोरी समिति गठन गरिएको छ । लहानस्थित दलित जनकल्याण युवा क्लव र मा. वि. गोविन्दपुरको समन्वय र सहकार्यमा समिति गठन गरिएको हो । बाल बालिकाहरूको उज्यालो भविष्यका लागि बाल विवाहसँगै महिला हिंसा अन्त्यका लागि समिति परिचालन गरिने वडाध्यक्ष चौधरीले बताउनु भएको छ । 
सिरहा प्रहरीले पछिल्लो ११ फागुनमा स्थानीय समुदायको सहयोगमा १६ वर्षीया बालिकाको हुन लागेको विवाह रोकेको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका १८ जरुवाटोलका धनिकलाल यादवकी छोरी १६ वर्षीया बालिकाको विवाह रोकेको थियो । सिरहा प्रहरीले कर्जन्हा नगरपालिका ६, मिर्चैया १ र कल्याणपुर १ मा तीन जना बालिकाहरुको बाल विवाह रोकेको छ । प्रहरीका अनुसार कर्जन्हा ६ का रिझन मुखियाकी छोरी रञ्जु कुमारी मुखिया, मिर्चैया १ बस्ने श्रीराम कापैरकी छोरी संगिता कापैर र कल्याणपुर १ बस्ने रामनरेश माझीको छोरी गनिता माझीको माघ २७ गते हुन लागेको बाल विवाह रोकिएको हो । 
बाल विवाह रोक्न प्रहरी पनि 

पछिल्लो समयमा सिरहा प्रहरीले प्रहरी समुदाय साझेदारी अन्तर्गत उमेर नपुगी हुने बाल विवाह रोक्न अभियान तीब्र बनाएको छ । पछिल्लो पल्ट प्रहरीले १८ फागुनमा सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका १ बस्ने सुरेन्द्रप्रसाद मण्डलकी छोरी १८ वर्षीया बालिकाको उमेर नपुगी हुन लागेको विवाह रोकेको छ । प्रहरीले १६ गोलबजार नगरपालिका ९ गोविन्दपुर गाउँकी राजकुमार महतोको छोरी १७ वर्षीया बालिकाको हुनै लागेको विवाह पनि रोकेको हो । बाल विवाह हुँदैछ भन्ने सूचना पाए लगत्तै पुगेको मिर्चैयास्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले स्थानीय अगुवा, भद्रभलाद्मीको उपस्थितिमा कानुन बमोजिम विवाह गर्ने उमेर नपुगेकाले विवाह रोकी बाल विवाह हुन दिनेछनौ, बाल विवाह न्यूनीकरण गर्न सघाउने छौं भन्ने प्रतिबद्धतासहित विवाह रोकिएको प्रहरीले जनाएको छ । 
के छ कानुनमा ?
मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार २० वर्ष नपुुगी विवाह गर्न नहुने भएपनि हानिकारक सामाजिक मूल्य मान्यताको कारणले विशेषतः छोरीको उमेर नपुगी विवाह गरिदिने कुरीति भएपनि क्रमशः घट्दो छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद ११, दफा १७१ (१) मा विवाह गर्ने व्यक्तिहरुको मञ्जुरी बिना कसैले कसैलाई विवाह गर्न वा गराउन हुँदैन ।
मञ्जुरी बिना गरिएको विवाह बदर हुने र मञ्जुरी बिना विवाह गर्न वा गराउने कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुने उपदफा २ र ३ मा उल्लेख छ । त्यही परिच्छेदको दफा १७३ उपदफा १ मा विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न गराउन नहुने, २ मा त्यस्तो विवाह स्वतः बदर हुने र उपदफा ३ मा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »