बिपन्नलाई कांग्रेसको राहत

प्रकाशित समय 9:38:00 PM
एम महतो
लहान, १७ वैशाख । कोरोना भाइरस (कोभिड १९) को कारणले चैत ११ गतेदेखि शुरु भएको  कडाउनले अप्ठ्यारोमा परेका अति बिपन्न, दैनिक ज्यालादारी परिवारलाई नेपाली कांग्रेस सिरहाले राहत वितरण थालेको छ ।
सिरहा धनगढीमाई नगर कार्यसमितिले पार्टीका सहृदयीहरुको आर्थिक सहयोगमा जोहो गरेको चामल, दाल र नुन वितरण थालेको हो । धनगढीमाई ११ सोनापुरमा बुधबार छ वटा वडालाई राहत सामग्री हस्तान्तरण गरिएको छ । राहत सामग्रीमा प्रति परिवार साढे १२ किलो चामल, एक÷एक किलो दाल र नुन छ । 
नेपाली कांग्रेसका सिरहा सभापति तथा पूर्व सभासद् रामचन्द्र यादव, जिल्ला सचिव तथा महासमिति सदस्य पञ्चलाल महतोको उपस्थितिमा धनगढीमाई २, ३, ४, ७, १० र ११ नं. वडामा गठन गरिएको पार्टी अन्तर्गतको राहत व्यवस्थापन समितिलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । राहत हस्तान्तरण गर्दै जिल्ला सभापति यादवले नगर क्षेत्रका पार्टी समर्थक, सहृदयीहरुले दिएको २९ लाख रुपैयाँबाट खरिद गरिएको चामल, दाल र नुन नगरको १ देखि १४ वडा क्षेत्रका अति बिपन्न, दैनिक ज्यालादारी परिवारलाई दिइने बताए । 
महासमिति सदस्य महतोका अनुसार राहतका लागि तीन सय क्वीण्टल चामल, २० क्वीण्टल मसुरोको दाल र तीन हजार किलो नुन खरिद गरिएको छ । ‘वडा कार्यालयसँग समन्वय गरी पहिचान गरिएका तीन हजार परिवारलाई वडा स्तरीय समितिले वितरण गर्नेछ’ उनले भने ‘हरेक वडाका वडाध्यक्ष, पार्टीका अगुवा, अन्य राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत समन्वय गरी पहिचान गरिएका परिवारलाई राहत दिन्छौं, त्यसमा पार्टीगत रुपले काखापाखा हुँदैन ।’
  स्थानीय युवा नेता अरुण यादवले विपद्को समयमा नगरपालिकाले राहत बाँडेको भएपनि छुटेका अति बिपन्नलाई राहत दिने योजना अन्तर्गत राहत सामग्री वडा स्तरीय समितिको जिम्मा लगाइएको बताए । कोरोना महामारीको संकटको बेलामा विशुद्ध मानवीय रुपले सहयोग गर्न धनगढीमाईसहित लहान, मिर्चैया र अन्य स्थानीय तहमा पनि पार्टीमार्फत् राहत वितरण थालिएको उनको भनाई छ । 





सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »