लकडाउनको प्रकोपबाट जोगिन अदालतमा भिडियो कन्फ्रेन्स

प्रकाशित समय 9:58:00 PM
सन्तोष सुवेदी
सिरहा,१ जेठ । कोरोना भाइरसको बढ्दो संक्रमणको बेला यसलाई नियन्त्रण गर्न नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा भीड जम्मा हुन नदिने उद्देश्यले सिरहा जिल्ला अदालतले साधारण कार्य समेत भिडियो कन्फ्रेन्सबाट गर्ने काम थालनी गरेको छ ।
सिरहा जिल्ला अदालतले लकडाउनको अवधिभरी फौजदारी अभियोगको अनुसन्धानको लागि गर्नुपर्ने नियमीत प्रक्रिया अन्तर्गत जरुरी पक्राऊ पूर्जीको समर्थन, पक्राउ पूर्जीको अनुमति तथा म्याद थपको अनुमति पनि गत वैशाख ३० गतेदेखि भिडियो कन्फ्रेन्सबाटै दिने व्यवस्था मिलाएको छ । भिडियो कन्फ्रेन्सको व्यवस्था नहुँदा यी कार्य गर्न समेत थुनुवाहरुलाई जिल्लाको विभिन्न प्रहरी कार्यालयबाट सिरहा सदरमुकामस्थित सिरहा जिल्ला अदालत ल्याउनुपर्ने बाध्यता थियो ।
यसभन्दा अघि कोरोना संक्रमणलाई मध्यनजर गर्दै सिरहा जिल्ला अदालतमा गत चैत ९ गतेदेखि वन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाई, अभियोगपत्र दर्ता, वयान, थुनछेक, पक्राऊ पूर्जीको अनुमति, जरुरी पक्राऊ पूर्जीको समर्थन, म्याद थप, कोरोना भाइरससम्बन्धि गम्भीर प्रकृतिको निवेदन, वाल सुधारगृहमा रहेका वालवालिकालाई अभिभावकले बुझिलिन चाहेमा सो सम्बन्धी निवेदन तथा एक वर्षभन्दा मुनि कैद सजाय पाएको कैदीलाई कैद बराबरको रकम भुक्तान गरी कैदबाट छुटकारा पाउने सम्बन्धी निवेदनबाहेक सम्पूर्ण अदालती प्रक्रिया तत्कालका लागि स्थगित गरिएको सिरहा जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »