सिरहामा भेटियो पहिलो कोरोना संक्रमित

प्रकाशित समय 8:20:00 PM
कमलेश कुमार यादब
लहान, ३ जेठ । कोरोना भाइरसको संक्रमण फैलिएको ५३ आंै दिन शुक्रबारसम्म प्रदेश २ अन्तर्गतका अन्य जिल्लामा संक्रमतिको संख्या एक सयको हाराहारी पुगेपछि सिरहामा पहिलो संक्रमित भेटिएका छन् ।  
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ का ३० वर्षीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २८ फागुनमा वैदेशिक रोजगारी अन्तर्गत मलेसियाबाट फर्किएर घरमै बसिरहेका उनलाई ३० वैसाखमा भगवानपुर पुर्याएर पिसिआर परीक्षणका लागि स्वाब दिन लगाइएको जनाइएको छ । वैदेसिक रोजगारीबाट फर्किएकाले क्वारेण्टाइनमा बस्न आग्रह गरेपनि शारीरिक अवस्था सामान्य रहेकाले घरमै बसेर सामान्य कामधन्दा गरिरहेको स्थानीयले बताए । 
‘स्वाब परीक्षणका लागि जान भन्दा पनि नमानेपछि हलो जोतिरहेका बेला समातेर लगिएको थियो’ उनले भने ‘उनलाई भगवानपुरसम्म लैजाने व्यक्ति, सम्पर्कमा रहेका परिवारका सदस्यहरु, गाउँलेमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंका छ ।’
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार गत वैसाखको २९ र ३० गते जिल्लाका आठ ठाउँमा पिसिआर परीक्षणका लागि संकलन गरिएको एक सय ६८ जनामध्ये शनिबार बिहानसम्म आएको १८ जनाको रिपोर्ट मध्ये उनमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक अन्देश्वर चौधरीका अनुसार संकलन गरिएको स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमितलाई धनगढीमाई ११ छपराढीस्थित महेन्द्र गेनाई स्मृति प्रसूति तथा बाल कल्याण अस्पतालमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनान राखिएको चौधरीले बताए ।  
प्रदेश २ मा एक सय संक्रमित
सिरहामा शनिबार एक जनामा भाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश २ का ८ जिल्लामै कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत कोभिड १९ नियन्त्रण तथ रोकथाम कार्यक्रमका फोकलपर्सन बरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाका अनुसार शुक्रबार साँझसम्मको अद्यावधिक तथ्यांक अनुसार प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ८२ जना र सबैभन्दा कम सिरहामा एक जना संक्रमित पुष्टि भएको छ । 
फोकलपर्सन झाले सप्तरीमा एक, धनुषामा तीन, महोत्तरीमा दुई, सर्लाहीमा दुई, रौतहट तीन, बारामा तीन जनामा संक्रमण पुष्टि भएको बताए । प्रदेश अन्तर्गतका आठ वटै जिल्लमा शुक्रबारसम्म पिसिआर परीक्षणका लागि चार हजार नौ सय ८० जनाको स्वाब संकलन र पाँच हजार पाँच सय १७ जनाको आरडिटी जाँच गरिएको उनले बताए । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »