प्रदेश २ः जनगणनाबारे विवाद, गणक नै लखेटिए

प्रकाशित समय 6:00:00 PM

जनगणनाको विश्वसनीयतामा प्रश्न उठेकै हो ?

किरण कुमार कर्ण 

जनकपुर, ९ मंसिर । देशव्यापी रूपमा मङ्सिर २५ गतेदेखि जनगणना सुरु भएको छ । जनगणनाको आज अन्तिम दिन हो । तर जनगणनाको क्रममा प्रदेश २ मा विवाद देखिएको छ । सबैभन्दा बढी भाषा, धर्म र जाति रहेको प्रदेश २ मा गणकले भाषा, धर्म र जातिका सवालमा जथाभाबी लेखेपछि कारबाहीसमेत गरिएको छ भने कतिपय ठाउँमा गणकहरू लखेटिएका छन् । सप्तरी, सिराहा र धनुषामा विशेष गरी स्थानीय गणकले कसैको बहकाउ वा दबाबमा आएर भाषा र धर्मका सवालमा तथ्यांक संकलन गर्दा नसोधिकनै लेख्ने गरेको आरोप छ । यस्तो आरोपमा दुई जना गणक कारबाहीमा परेका छन् भने एक जनालाई सचेत तुल्याइ छाडिएको प्रदेश २ जनगणना कार्यालयका प्रमुख विमलकुमार यादवले बताए ।

जनकपुरमा स्थानीयवासीले लखेटे गणकलाई


जनगणनाको क्रममा जनकपुरधाम उपमहा नगरपालिकामा स्थानीयले गणकलाई लखेटेका छन् । जनगणनामा गणकले जात र धर्म नै उल्लेख नगरेको भन्दै जनकपुरधाम वडा नम्बर १३ स्थित रानीबजारमा स्थानीयले गणकलाई लखेटेका हुन् । फारममा धर्म उल्लेख नगरी आफूखुसी घरमा लगेर फारम भर्ने बताएपछि स्थानीयले गणक आलोक देव साहलाई लखेटेर भगाएका थिए । बिहीबार गणना गर्न पुगेको बेला उनले फारममा सबै उल्लेख गरे पनि जात र धर्म स्पस्ट उल्लेख नगरेपछि विवाद सुरु भएको थियो ।

गणक आलोक देव साहले समयाभावका कारण र आफू स्थानीय भएको हुनाले सबै कुरा थाहा भएकाले घरमै गएर जात र धर्म लेख्ने योजना बनाएको बताए । रानीबजारमा मुख्यगरी हिन्दु र मुस्लिम धर्मका मानिसको बस्ती छ । मुस्लिम र हिन्दु छुट्याउन आफूलाई समस्या नपर्ने हुनाले फारममा जात र धर्म नभरेको उनको भनाइ छ । गणकले जात र धर्म उल्लेख नै नगरेपछि स्थानीयवासीले प्रहरीलाई बोलाएर यसबारे जानकारी गराएका थिए । तर प्रहरीले कुनै कारबाही नगरेको भन्दै स्थानीयवासीले गणकलाई नै लखेटेका थिए ।

जनगणना कार्यालय प्रदेश २ ले तालिम तथा अभिमुखीकरण दिएर क्षेत्रानुसार सुपरभाइजरको निगरानीमा गणकलाई खटाएको छ । तर पनि गणकले तालिममा लिएका सिपभन्दा भिन्न ढंगले तथ्यांक संकलन गर्दा विवादमा पर्दै आएका छन् । सप्तरीमा एक गणकले भाषाको सवालमा स्थानीयलाई नसोधि आफ्नै मनले जथाभावीमा चिन्ह लगाउँदा कारबाहीमा परेका थिए । त्यस्तै सिरहामा समेत एक गणकले भाषाको सवालमा नसोधिकनै अन्य भाषामा चिन्ह लगाएको प्रदेश २ प्रदेश जनगणना कार्यालयले फेला पारेपछि कारबाही गरेको थियो ।

धनुषाको बटेश्वर गाउँपालिकामा गणक कृष्णदेव महतोले आफूखुसी फारममा चिन्ह लगाएपछि सचेत गराउँदै छाडिएको छ । धनुषाकै लक्ष्मीनियाँ गाउँपालिकामा गणकले धर्मको सवाल नसोधिकनै आफुखुसी चिह्न लगाएका थिए । प्रदेश २ प्रदेश जनगणना कार्यालयका प्रमुख विमलकुमार यादव सबै गणकलाई तालिम दिएको बताउँछन् । उनी भन्छन्, ‘केही गणकले कसैको दबाबमा आएर वा बहकाउमा लाग्दा यस्तो समस्या आएको हो ।’के भन्छन् विज्ञ ?त्रिभुवन विश्वविद्यालय मैथिली विभागका केन्द्रीय अध्यक्ष परमेश्वर कापरीले सत्तामा प्रभुत्व जमाउनका लागि भाषाको नाममा राजनीतिक चलखेल भइरहेको बताउँछन् । उनले भाषाको नाममा गलत राजनीति र गलत संस्कारको विकासले असर परे पनि खासै फरक नपर्ने बताए ।

भाषा, धर्म र जातकै नाममा गणककै कारणले प्रदेश २ मा देखिएको विवादित क्रियाकलापले गणक र जनगणनाप्रति विश्वास गर्न निकै कठिनाइ हुने विज्ञहरुको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »