‘लैङ्गिक हिंसाको सुरुवात ठट्टाबाटै हुन्छ’

प्रकाशित समय 6:06:00 PM


काठमाडौं, ९ मंसिर । लैङ्किक हिंसाविरुद्धको १६ दिने अभियान विहीबारदेखि सुरु भएको छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरेको गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन ।

बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷०७५ देखि ०७६÷०७७ सम्मको तीन वर्षमा ७७ प्रतिशत हिंसाका घटना घरेलु हिंसासँग जोडिएका छन् । घरेलु हिंसाविरुद्धका उजुरी मिलापत्रमा टुंग्याउने प्रवृत्तिका कारण महिलाले न्याय पाउन सकेका छैनन् ।  घरेलु हिंसाका उजुरी मिलापत्र हुनै नसके मात्रै अभियोजनको प्रक्रिया अघि बढाइने गरिएको छ ।

यस्तै, लैंिगक हिंसाको सुरुवात ठट्टाबाट सुरु हुने गरेको पनि अध्ययनले देखाएको छ । पिछा गर्ने, सुसेल्ने, जिस्क्याउने, सहमति विना फोटो खिच्ने, बदला लिन गोप्य कुरा सार्वजनिक गर्ने, बलात्कारबारे ठट्टा गर्ने जस्ता प्रवृत्ति लैङ्किक हिंसा हुन् । यस्तै, नेपाल प्रहरीमा दर्ता भएका कुल अपराधमध्ये ४० प्रतिशत लैङ्किक हिंसाका घटना छन् । त्यसैगरी महिलामाथि हुने यौनजन्य हिंसाका घटनामा ७९ प्रतिशत चिनजानका व्यक्तिहरु रहेका पाइएको छ । यस्तै, महिला भएकै कारण भेदभाव गर्नु वा विभेद गर्नु पनि हिंसा नै हो । पछिल्लो समय महिलामाथि हुने हिंसाका घटना सार्वजनिक हुने गरे पनि यस्ता घटनामा कमी आउन सकेको छैन । पीडकलाई कारबाही र पीडितलाई सुरक्षाको व्यवस्था नभएकाले हिंसाका धेरै घटना ओझेलमा पर्दै आएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »