कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन ः अध्यक्ष यादव

प्रकाशित समय 6:27:00 PM

  चितवन, ११ मंसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन् । यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कार्यपालिकाले न्यायपालिकामाथि


हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताएका हुन् । अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताए । ‘कार्यपालिकाले हस्तक्षेप गर्यो भने अन्तर्राष्ट्रिय जगतमा पनि लोकतन्त्रका लागि राम्रो मानिँदैन’, उनले भने, ‘कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन । सुझाव सल्लाह दिएर यो समस्या हल होस् भन्ने कुरा अलग विषय हुन् ।’

अध्यक्ष यादवले प्रधानन्यायाधीशका विषयमा दलले भन्नुभन्दा पनि न्यायाधीश र अधिवक्ता बसेर यसको समाधान खोज्नुपर्छ भन्दै न्यायालयको आफ्नै पद्धति हुन्छ, न्यायालयमा अहिले देखिएको समस्या छिट्टै हल होस् र न्याय निरुपणको काम होस् भन्ने हाम्रो चाहना रहेको बताए । न्यायपालिका आफैं एउटा संवैधानिक व्यवस्था भएको संस्था रहेको उल्लेख गर्दै उनले राजनीतिक सत्ता र शक्तिको प्रभावबाट यो संस्था स्वतन्त्र र अलग रहनुपर्ने बताए ।

‘अब चाँडै नै संसद् बोलाउनुपर्छ र यसले  बिजनेस पनि पाउनुपर्छ’, उनले भने, ‘संसद् समक्ष धेरै विधेयक छन् । त्यसलाई पारित गरेर अघि बढ्नुपर्छ ।’ संसद् बोलाउने अधिकार मन्त्रिपरिषद्को कार्यक्षेत्रभित्र पर्ने भएकाले अनुकूलता मिलाएर बोलाउन सकिने उनको भनाइ छ । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »