प्रदेश २ सरकारको मनपरी: चार वर्षमा पनि पूर्णता पाएन लेखा समिति

प्रकाशित समय 6:25:00 PM

  जनकपुर, ११ मंसिर । प्रदेशसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पूर्णता नपाउंदा समिति निष्क्रिय बनेको छ । प्रदेशसभा गठन भएको झण्डै ४ वर्ष बितिसक्दा पनि सार्वजनिक लेखा समितिले पूर्णता नपाउंदा समिति निष्क्रिय बनेको हो । चार वर्ष बितिसक्दा पनि समितिको सभापतिकै चयन नहुंदा समिति औचित्यहीन बनेको छ । प्रदेश सभा सचिवलयका वरिष्ठ सदस्य नेकपा एमालेका सांसद लगनलाल चौधरीको अध्यक्षतामा समितिको एक दुइ पटक बैठक बसे पनि समितिको क्रियाकलापलाई चौधरीले पनि कुनै चासो नलिएको देखिएको छ ।

समिति प्रायः निष्क्रिय झैं रहेपनि एक दुई पटक बैठकको अध्यक्षता गरेको भरमै चौधरीले समिति सभापतिको सेवा सुविधा भने लिंदै आएका छन् । चौधरीले अन्य संसदीय समितिका सभापति सरह नै सेवा सुविधा लिंदै आएको प्रदेश सचिवालयले जनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले चार वर्ष बितिसक्दा पनि सार्वजनिक लेखा समितिले पूर्णता नपाउनु दुःखद रहेको बताए । लेखा समितिका सदस्य समेत रहेको सांसद महतोले भने, ‘सभापति नहुंदा समितिको बैठक नै बस्दैन, सरकारको आर्थिक कारोबारको विषयमा केही जानकारी हुंदैन र महालेखापरीक्षकको प्रतिवेदनमाथि पनि छलफल हुंदैन । यस्तोमा सरकारको स्वेच्छाचारी बढेको छ ।’ सासद महतोले समितिले अझै पनि पूर्णता नपाउनुमा सरकारकै षड्यन्त्र रहेको आरोप समेत लगाए ।

संसदीय समिति राजनीतिक भागबण्डाका बेला सार्वजनिक लेखा समिति तत्कालीन नेकपाको भागमा परेको थियो । तर तत्कालीन नेकपामा आन्तरिक विवादको कारण उक्त समितिमा सभापति पठाउन सकेन र पछि नेकपा नै विभाजित भएपछि अहिले उक्त समिति कुन पार्टीलाई दिने विषयमा छलफल नै भएको छैन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »